अपराध

ट्याक्टरमा भेटियो २१३ किलो गाँजा, चालक फरार

फाइल तस्बिर।

पर्साको जिराभवानी गाउँपालिका–४ स्थित पशुबजार नजिकैबाट प्रहरीले करिब २ सय १३ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

सोमबार राति बेवारिसे अवस्थामा छाडिएको एउटा ट्याक्टरबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको गस्ती टोलीलाई देखेपछि चालक ट्याक्टर नै सडकमै छाडेर भागेका थिए।

सुपौली बजारबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टरलाई शंका लागेर तलासी गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले फरार चालकको खोजी कार्य तीव्र पारेको छ। यस घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ १५:५० मंगलबार