नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत मोरङको जहदाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
जहदाको लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ गाडीमा राखेर लैजाँदै गरेको गाँजा राति बरामद गरेको सशस्त्र प्रहरी मोरङकका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपी नोचा र बिओपी तारेगामाको संयुक्त टोलीले बिहीबार राति १२ः३० बजेतिर ९ सय २२ केजी गाँजा, पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
'एउटा गाडीमा गाँजा भारततर्फ लैजाँदै छ' भन्ने सूचना आएपछि ३ वटै युनिटलाई परिचालन गरेको बताउँदै एसपी भण्डारीले भने, ‘गाडी खोज्दै जाँदा लक्ष्मनियाबाट सीमा क्षेत्रतर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरेर लैजाँदै भेटियो। पिछा गरेको थाहा पाएपछि गाडी र मोटरसाइकलका चालकहरुले सवारी छाडेर भागे। अँध्यारो भएका कारण मानिस भाग्न सफल भयो।’
तारेगामा सीमासँग जोडिएको क्षेत्र हो। गाँजा भारत लैजान लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको एसपी भण्डारीले बताए। फरार भएकाको पहिचान र खोजी कार्य भइरहेको छ। बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १०:४१ बिहीबार