काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट कुल ७ लाख २९ हजार ९५ रुपैयाँ नगदसहित १६ थान कौडा र ४ बुक तास बरामद भएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित ‘कुशुम छ्याम्बा हाउस र होम स्टे’मा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बिहीबार बिहान होम स्टे सञ्चालक ३४ वर्षीय कुमार लामासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ५ लाख ७८ हजार ५५५ रुपैयाँ र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, तनहुँको भिमाद नगरपालिका-६ रत्नचोकस्थित काठमाडौं मम होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले बुधबार राति होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद १ लाख ५० हजार ५४० रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले बताएको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १६:४२ बिहीबार



