उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
बुधबार साँझ लगभग एउटै समयमा फरक २ ठाउँबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार दिउँसो जारी गरेको प्रेस नोट अनुसार अघिल्लो साँझ ५ः०० बजे सदरमुकाम त्रियुगा नगरपालिका ३ हात्तीमाराका अर्जुन रोक्का र त्रियुगा नगरपालिका १२ बोटे टोल बस्ने सञ्चित परियार पक्राउ परेका हुन्।
रोक्काको घरमा लागूपदार्थको अवैध कारोबार भइरहेको भन्ने सुराकीका आधारमा खटेको त्रियुगा बसपार्कस्थित अस्थायी बिटको प्रहरी टोलीले घर खानतलासी लिँदा २४ वर्षीय रोक्का र परियार पक्राउ परेका हुन्।
रोक्काको घर र शरीरमा खानतलासी लिँदा उनी सुत्ने कोठामा प्लास्टिकमा सानो सानो पोका पारेर राखेको अवस्थामा ७ पोका प्लास्टिक प्याकमा २.०८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ पक्राउ परेको हो।
साथै उनका साथी भनिने १२ नंं वडाका २३ वर्षीय परियार र उनी सवार १–०५–००१ प ८०३४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर बिहीबार जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि बुधबारै दिउसो ४ः०० बजेजस्तो समयमा त्रियुगा नगरपालिका १२ घर भई हाल चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीस्थित राजकुमार मगरको घरमा डेरा गरी बस्दै आएका २७ वर्षीय सुशान्त राउत पनि ब्राउन सुगरजस्तो पदार्थसहित पक्राउ परेका छन्।
ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको टोलीले उनको घर खानतलासी गर्दा कोठाको टेबलमा प्लास्टिकमा पोका पारिएको अवस्थामा प्लास्टिकबाहेक २ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो।
बरामद ब्राउन सुगरसँगै राउतलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश पाण्डेले बताए।
प्रकाशित: १९ कार्तिक २०८३ १८:०४ बिहीबार


-600x400.jpg)
