अवैध लागू औषध सहित प्रहरीले विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौं उपत्यका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सप्तरी बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका-८ घर भएका २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका-३ घर भएका २५ वर्षीय विक्रम कुमार शर्मा, सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पवन दास रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा होटल संचालन गरी बस्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ घर भएकी ५२ वर्षीया कुमारी राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो र नगद १९ हजार ९ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीको होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र सोही उपमहानगरपालिका-१९ वस्ने २९ वर्षीय रूदिन भुजेल रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ राजदेबी टोल बस्ने ३७ वर्षीय सिद्दान्त श्रेष्ठ समेत ६ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम र नगद १६ हजार ४ सय ५५ रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले सिद्दान्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै उक्त स्थानबाट प्रहरीले को.३१ प १८५४ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ बस्ने ७१ वर्षीय गोपाल मण्डललाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६४ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले गोपालको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
साथै, प्रहरी उक्त गाँजा खरिद गर्न आएका बेलबारी नगरपालिका-२ बस्ने २६ वर्षीय रोजन पराजुली समेत ४ जनालाई पक्राउ गरेको छ।
पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५४ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका-६ बस्ने ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३ ग्राम ७ सय ९० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० जे ०६५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय कान्छा लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
भोजपुर, पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र डाइक्लोमाइन १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय पुष्प राज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
साथै, थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३८ वर्षीय रोशन श्रेष्ठले संचालन गरेको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले रोशनको मेडिकल तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल थप २ सय ८० ट्याब्लेट फेला पारी रोशनलाई समेत पक्राउ गरेको छ।
रूपन्देही, रोहिणी गाउँपालिका-६ पकडीहवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६१ एम्पुल, फेनारगन ५५ एम्पुल र डाइजेपाम ५९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय निहाल अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
प्रकाशित: ७ आश्विन २०८३ १४:५७ बुधबार