अपराध

लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जना समातिए

लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन्।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले बा.प्र.०२-०५९ प ८८३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

प्युठान, नौबहिनी गाउँपालिका-६ स्थित कुलाखोलाबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित ३ जनालाई  बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ उपल्लोबहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जिवन केसी र ३२ वर्षीय बिमल केसी रहेका छन्। इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ बरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले बरैयाबाट बेलौरीतर्फ आउँदै गरेको शु.न.पा.ह ४० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक विक्रम र अटोमा सवार महेशलाई पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३ एम्पुल, डाइजेपाम ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २२ वर्षीय योगेन्द्र चौधरी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय सन्तोष चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.२-०१-००२ प ५७२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद १६ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ,सोही महानगरपालिका-४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका-७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सर्लाही, मलंगवा नगरपालिका-११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रमोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

सिराहा, नरहा गाउँपालिका-५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११दनुवारी टोल बस्ने २१ वर्षीय सुदिप ठाकुर र सोही नगरपालिका-४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन्। इलाका प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले सिरहाबाट चोहर्वातर्फ आउँदै गरेकोप्र.२-०१-००१ प ४३३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-१० बस्ने २७ वर्षीय डम्बर बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्राम सहित सोही गाउँपालिका-२ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: ८ आश्विन २०८३ १३:३८ बिहीबार