अपराध

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। 

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भोजपुर टेम्केमैयुङ गाँउपालिका-१ बस्ने २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउराली बस्ने २४ वर्षीय प्रविन राई रहेका छन्।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडी सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पक्राउ गरेको हो।

यसैगरी धनकुटा, सहिदभूमि गाउँपालिका-७ चाम्चा बस्ने २१ वर्षीय प्रगत राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्पेन २ सय ९० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

मकवानपुर, मनहरी गाउँपालिका-७ चैनपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित राक्सिराङ गाउँपालिका-८ बस्ने २३ वर्षीय अन्जन कुमार थिङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट चैनपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा ६ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ८ लाख ८७ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ बिजयपुर डेरा गरी बस्ने भोजपुर घर भएका २३ वर्षीय रितेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ लेखनाथ चोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २४ वर्षीय कबिर सहनी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम, ट्रामाडोल ६ सय ६० ट्याब्लेट, डिकोलिक ६० ट्याब्लेट र स्पास्पेन १ सय २४ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कबिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा भन्सार चोक नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन ४४ एम्पुल, फेनारगन ४३ एम्पुल र डाइजेपाम ४३ एम्पुल सहित सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३० वर्षीय शिब गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो।

यसैगरी कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ४ एम्पुल सहित सोही महानगरपालिका-६ ठाडोपसल बस्ने ३२ वर्षीय सबिन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-१३ सिम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सम बहादुर नेपाली र २४ वर्षीय नबिन दमाई रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: ६ आश्विन २०८३ १५:२० मंगलबार