१३ वर्षीया बालिका यौन दुर्व्यवहारको आरोप लागेका धरानका एक श्रमदाता पक्राउ परे पनि त्यसको मतियारको रूपमा संलग्न अन्यलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिएको छ।
धरान उपमहानगरपालिका वडा नं. ११ को बाल सञ्जालले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो। चार दिनअघि बालिका यौन दुर्व्यवहारको आरोपमा धरान वडा नं. १७ का ४९ वर्षीय खजिन्द्र राई पक्राउ परेका थिए।
बाल सञ्जाल समूह धरान वडा नं. ११ का अध्यक्ष रोजन शंकरका अनुसार सो घटनामा मतियारको रूपमा अन्य चार व्यक्तिको पहिचान भए पनि अहिलेसम्म पक्राउ नभएका कारण नियमनकारी निकायमा ध्यानाकर्षण पत्र बुझाएको बताए। बाल सञ्जालको ध्यानाकर्षण पत्रमा धरान वडा नं. ११, वडा नं. १०, वडा नं. ८ र १६ का एक-एक व्यक्ति रहेको खुलाइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार एक मुख्य अभियुक्त पक्राउ परिसकेको र त्यस घटनासँग सम्बन्धित जोसुकै भए पनि अनुसन्धानको दायरामा पर्ने व्यक्ति पक्राउ पर्ने बताए। ‘ध्यानाकर्षण पत्र बुझाउने आएका बाल सञ्जालका प्रतिनिधीलाई पनि प्रष्ट छ, अरू कोही भए पक्राउ गरी कारबाही गरिनेछ,’ उनले नागरिकसँग टेलिफोनमा भने। जघन्य प्रकृतिका अपराधमा अनुसन्धानमा संलग्न व्यक्ति अनिवार्य पक्राउ पर्ने उनले बताए।
दुई महिनाअघि धरान वडा नं. १६ को बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला खजिन्द्रले बालिकालाई यौन हिंसा गरेको परिवार पक्षले बिहीबार उजुरी दिएपछि शुक्रबार पक्राउ गरिएको थियो। पक्राउ परेका खजिन्द्रको अहिले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रकाशित: २४ असार २०८२ ११:०७ मंगलबार