अपराध

धनुषामा तस्करसँग झडप : ६ सशस्त्र प्रहरी घाइते, चार राउन्ड हवाई फायर

धनुषाको विदेह नगरपालिका-२ स्थित गोबराही क्षेत्रमा असार १९ गते तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही क्षेत्रमा मोटरसाइकलमा अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामान खोजतलास गर्ने क्रममा एक मोटरसाइकल फेला पारेको थियो।

नजिकैको टहरामा खोजतलास गर्ने क्रममा १००-१५० जनाको संख्यामा लुकेर बसेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको डिएसपी थापाले जानकारी दिए। सो क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका हुन्।

स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर गरेको उनको भनाइ छ। घाइते भएकामध्ये ३ जना सशस्त्र प्रहरी कर्मचारीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ।

प्रकाशित: २० असार २०८२ ०९:४३ शुक्रबार

#NagarikNews #NepaliNews