आफूलाई सादा पोशाकको प्रहरी बताउने एक समूहले विराटनगरमा एक युवकको अपहरण गरी दिउँसै लाखौं रुपैयाँ लुटेको घटना सार्वजनिक भएको छ।
असार ११ गते भएको उक्त अपहरण तथा डकैतीको घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले ५ दिनपछि दुई जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न एक जना अझै फरार छन्।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समिर हुसेन र विराटनगर-६ का २७ वर्षीय आशिफ अन्सारी छन्। उनीहरूलाई आइतबार विराटनगरबाटै पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, विराटनगर-१५ का विक्रमकुमार साह आफ्नो भिनाजु धर्मानन्द साहसँग सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बैंकमा जम्मा गर्न सिटी सफारीमा जाँदै थिए।
असार ११ गते बुधबार सवा ११ बजेतिर विराटनगर-१३ रानीस्थित राइस मिल नजिक पुग्दा मोटरसाइकल र स्कुटरमा आएका तीन जनाको समूहले उनको सिटी सफारी रोकेको थियो।
डीएसपी चुँडालले भनिन्, ‘उनीहरूले ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भन्दै विक्रमलाई जबरजस्ती स्कुटरको बीचमा राखेर लगेका थिए।’
अपहरणकारीले हल्ला गरेमा मारिदिने धम्की दिँदै विक्रमलाई विराटनगर-१४ जतुवाको एकान्त स्थानमा लगेर साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर फरार भएका थिए।
पक्राउ परेका दुवै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक र डाँका मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको डीएसपी चुँडालले बताइन्।
प्रकाशित: १६ असार २०८२ १९:५८ सोमबार