अपराध

मादक पदार्थ सेवनपछिको विवादमा युवकको हत्या, कुटपिटमा संलग्न दुई पक्राउ

तनहुँको देवघाटमा एक युवकको कुटपिट गरी हत्या भएको छ।

मादक पदार्थ सेवनपछि भएको विवादमा कुटपिटबाट गम्भीर घाइते भएका ३२ वर्षीय प्रकाश पौडेलको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार देवघाट गाउँपालिका-५, बद्रिमुक्ति टोल बस्ने प्रकाश पौडेल बिहीबार बिहान करिब ५ बजे घरबाट तीन सय मिटर टाढाको कच्ची सडकमा लडिरहेको अवस्थामा फेला परेका थिए।

स्थानीयले उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगेका थिए। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पौडेलले अन्य व्यक्तिहरुसँग बसेर मादक पदार्थ (रक्सी) सेवन गरेको र सोही क्रममा झै-झगडा हुँदा उनीमाथि कुटपिट भएको खुलेको छ। कुटपिटकै कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ घर भई हाल देवघाटमा ज्याला मजदुरी गर्दै आएका ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका-८ घर भई हाल देवघाटमै मजदुरी गर्ने २८ वर्षीय बुद्ध सारु मगर रहेका छन्।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८२ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App