अपराध

काठमाडौंसहित देशभरबाट २५ लागुऔषध कारोबारी पक्राउ

देशभरबाट ठूलो संख्यामा लागुऔषध कारोबारी पक्राउ परेका छन्। काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट प्रहरीले सोमबार साँझ ९६० एम्पुल फेनारगन, ५०० एम्पुल नोर्फिन, ९८३ एम्पुल डाइजेपाम र ४८७ एम्पुल बुप्रेनोर्फिनसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रौतहट, गरुडा-९ रघुनाथपुरका २९ वर्षीय राज किशोर सहनी र गौर-४ टिकुलियाका २८ वर्षीय सुखारिस सहनी छन्। फर्पिङ प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं-२६ पवित्रनगरबाट सोमबार राति ६०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ, १ लाख ८० हजार ५०० नगद र ६ मोबाइलसहित तीन जना पक्राउ परे। पक्राउ पर्नेमा सिन्धुपाल्चोक, सुनकोशी-५ का २७ वर्षीय रामहरी थापा, पर्वत, पैयूं-६ का ३६ वर्षीय दिनेश आचार्य र काठमाडौं, तार्केश्वर-१० का २६ वर्षीय सचिन लम्साल छन्। गोंगबु प्रहरीले रामहरीको कोठा तलासी गर्दा यी सामान फेला पारेको हो।

चितवन, भरतपुर-३ बासुमार्गबाट सोमबार दिउँसो १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन, ११ एम्पुल प्रोमेथाजाइन हाइड्रोक्लोराइड, ५०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ र १ लाख ४२ हजार ५१५ नगदसहित गोरखाका ३३ वर्षीय गणेश गुरुङसहित पाँच जना पक्राउ परे। चितवन प्रहरीले उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

धनकुटा, साँगुरीगढी-६ भेडेटारचोकबाट सोमबार दिउँसो ९.९ किलो गाँजासहित पाख्रिबास-८ मугाका ४१ वर्षीय नारायण प्रसाद राई पक्राउ परे। भेडेटार प्रहरीले ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८६३८ नम्बरको बस जाँच्दा उनलाई गाँजासहित फेला पारेको हो।

कैलाली, धनगढी-३ त्रिनगर व्यारेलबाट सोमबार दिउँसो २.१२ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित धनगढी-५ का १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा पक्राउ परे। कैलाली प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

मोरङ, विराटनगर-१५ एक नम्बर ढाँटबाट सोमबार साँझ ४.११ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सुनसरी, इटहरी-२ का ३० वर्षीय पंकज खत्री पक्राउ परे। लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले भारतबाट नेपाल आउँदै गरेका उनलाई पक्राउ गरेको हो।

बाँके, नेपालगंज-१५ जमुनाहबाट सोमबार राति ९८ ट्याब्लेट ट्रामाडोलसहित कालिकोट, महावै-६ पिलिका २१ वर्षीय हिक्मत शाही पक्राउ परे। जमुनाह प्रहरीले भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

सिराहा, मिर्चैया-५ बाट सोमबार राति ४०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित राहुल कुमार साह (२०), दिलिप कुमार साह (२१) र मिर्चैया-६ का विशाल गिरी (२३) पक्राउ परे। मिर्चैया प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

मकवानपुर, हेटौंडा-८ ओमनगरका विकास देउलालाई सोमबार साँझ १६ एम्पुल डाइजेपाम, १४ एम्पुल नोर्फिन, १८ एम्पुल फेनारगन र २७० ट्याब्लेट नाइट्राजेपामसहित पक्राउ गरियो। मकवानपुर प्रहरीले उनको घर तलाशी गर्दा यी सामग्री फेला पारे।

बर्दिया, बढैयाताल-१ शान्तिपुरबाट सोमबार दिउँसो ८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित बाँके, खजुरा-१३ बेलडाँडका तु्क प्रसाद थापा (२८) र प्रकाश खज्का (३१) पक्राउ परे। मैनापोखर र जमुनी प्रहरीले भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो।

झापा, बिर्तामोड-४ पुरानो भद्रपुरबाट सोमबार राति १३.३६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दमक-१ का ३२ वर्षीय बिजय कर्मकार र ३५ वर्षीय सन्तोष मिस्त्री पक्राउ परे। अनारमनी प्रहरीले उनीहरूको को.३५ प ९०६९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

दाङ, घोराही-१२ झट्कटारीका २७ वर्षीय याम बहादुर बस्नेतलाई सोमबार बेलुकी १६६ ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरियो। दाङ प्रहरी र शिवपुर प्रहरीले उनको घर तलाशी गर्दा लागुऔषध फेला पारे। प्रहरीले यी घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: ३ असार २०८२ १४:०९ मंगलबार

#NagarikNews