बाँकेको तत्कालिन नरैनापुर गाविस अध्यक्ष अजय कुमार श्रीवास्तव, तत्कालीन सचिवलगायत सत्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा कोषमा व्यापक अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिलाई कागजी किर्ते गरी ६ लाख ५६ हजार हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको दाबी अख्तियारको छ ।
साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएको उल्लेख गर्दै अख्तियारले प्रतिवादी तत्कालीन गाविस सचिव सावित राम कुर्मीबाट बिगो रकम असुल उपर गराउन पनि अख्तियारको माग पत्रमा उल्लेख छ ।
प्रकाशित: १ असार २०८२ १५:२४ आइतबार