अपराध

स्रोत नखुलेको १८ लाखसहित दुईजना पक्राउ

सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुईजनालाई शुक्रबार नियन्त्रणमा लिएको छ। वीरगञ्जका दुई स्थानबाट सशस्त्र प्रहरीले उक्त रकमसहित व्यक्तिहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहका अनुसार वीरगञ्ज महानगरपालिका–१६ मा रहेको वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच बिन्दु अगाडिबाट बीआर ०५ टी ०४७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको १३ लाख रुपैयाँसहित पर्साको वीरगञ्ज महानगरपालिका–२ छप्कैयाका राहुल कुमार तिवारीलाई पक्राउ गरिएको छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका–२ का कौशल कुमार गुप्ताको शरीरबाट ५ लाख रुपैयाँ बरामद गरिएको सिंहले बताए। 

उनले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग बरामद रकम र मोटरसाइकलसहित उनीहरूलाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।’

प्रकाशित: ३० जेष्ठ २०८२ १९:४० शुक्रबार

#NagarikNews