भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरमा रहेको खाजा पसल सञ्चालक कुमारी तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध बिक्री गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धादिङ, रुबी भ्याली गाउँपालिका वडा नं. ४ घर भई हाल मध्यपुर थिमि–३ गठ्ठाघरमा खाजा पसल चलाउने ४१ वर्षीया कुमारी तामाङ, मोरङ, विराटनगर महानगरपालिका वडा नं. ७ घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्ने ३२ वर्षीय क्रिशल घिमिरे, काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दधिकोटमा बस्ने २५ वर्षीय प्रवीण उप्रेती र सिन्धुली, दुधौली नगरपालिका वडा नं. १० कर्था घर भई हाल मध्यपुर थिमिको सानोठिमी मातृभूमि स्कूल नजिक बस्ने २२ वर्षीय विष्णु बानियाँ छन्।
प्रहरीका अनुसार मध्यपुर थिमि–९ राधेराधेमा शङ्का लागेपछि क्रिशल घिमिरेको शरीर खानतलासी गर्दा ७ ग्राम ६५० मिलिग्राम लागुऔषध पोल्याण्ड गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। सोधपुछमा उनले उक्त लागुऔषध कुमारी तामाङको खाजा पसलबाट खरिद गरेको खुलाएका थिए। सोही आधारमा उनीहरूलाई पसलबाट पक्राउ गरिएको हो।
उनीहरूबाट लागुऔषध, ५२ हजार ४७० रुपैयाँ नगद, चार थान मोबाइल र अन्य सामानसहित प्रहरी वृत्त ठिमी भक्तपुरको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीहरूमथि लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकृत ढुण्डीराज नेउपानेले बताए।
प्रकाशित: २५ जेष्ठ २०८२ १९:१४ आइतबार