अपराध

चोरी भएका २२ वटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर, बालकोट लगायत स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  

आज बुझाइएका २२ वटासहित ४ सय ६७ सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४४ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

प्रकाशित: २५ जेष्ठ २०८२ १८:१० आइतबार

#NagarikNews