अपराध

३५ सय रुपैयाँको विवादमा साथीको हत्या, तीन जना पक्राउ

पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन्। 

उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो। सोही विवादको क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिइएको छ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्राका अनुसार फागुन ७ गते वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए। तर अबेर रातिसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको थियो। 

निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशालप्रसाद कुर्मीको तैरिरहेको शव फेला पारेको थियो। अनुसन्धानका क्रममा फागुन ७ गते नै इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको खुलेको छ। 

पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १६ फाल्गुन २०८१ ११:२८ शुक्रबार