अपराध

धनुषामा फेला परेको शव शहीद अन्सारीको, प्रेमिका र उनको श्रीमान् मिलेर हत्या गरेको खुलासा

धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारी को भएको पुष्टि भएको छ।

प्रहरी अनुसन्धानअनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर गरेका हुन्।

कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। अनिताले ‘श्रीमती बिरामी रहेको’ बहाना बनाएर अन्सारीलाई नेपाल बोलाएकी थिइन्।

२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान् राजकिशोरले बञ्चरो प्रहार गरी अन्सारीको हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए। हत्या पश्चात् शवलाई जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो। माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा शवको फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो।

प्रहरीले अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। तर, उनका श्रीमान् राजकिशोर यादव हत्या पश्चात् साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए।

उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८१ १६:२१ बिहीबार