अपराध

नक्कली सुन देखाएर ठगी, मुलपानीबाट दुईजना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे–४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन्। 

विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाका आधारमा मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरिएको थियो। साथै प्रहरीले उनीहरूको साथबाट एक किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु एक थान र पिलास एक थान समेत बरामद गरेको जानकारी दिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

प्रकाशित: ९ फाल्गुन २०८१ १६:१२ शुक्रबार

#arrested #fakegold