अपराध

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात घटना: अभियुक्तलाई एक-एक लाख धरौटी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेहरूलाई काठमाडौं जिल्ला अदालतले एक÷एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रवार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रहरी हिरासतमा रहेका तीन जना अभियुक्तलाई समान एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा बहस गरेर काठमाडौं अदालतबाट बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि माघ २ गते आक्रमण भएको थियो।

प्रहरीले उक्त घटनामा संलग्न दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया शीतल भनिने सीतादेवी राई  र हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसीलाई पक्राउ गरेको थियो। 

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो । जसको शुक्रवार थुनछेक बहस भएको थियो। 

अदालतको आदेशपछि अभियुक्त केसी र राई धरौटी बुझाएर छुटिसकेका छन्। जैसी भने धरौटी बुझाउन नसक्दा थुनामै रहेको अदालत स्रोतले बतायो। 

प्रकाशित: २५ माघ २०८१ १८:३६ शुक्रबार

#Dinesh Tripathi