देशका विभिन्न जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध ब्राउनसुगर तथा नियन्त्रित फर्मास्युटिकल औषधिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, झापा, पर्सा, कैलाली, लमजुङ, सुनसरी र बर्दियाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट करिब ४ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र २० हजार २०० रूपैयाँ नगदसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भई माकलबारी बस्ने ३९ वर्षीय छिरीङ शेर्पालाई प्रहरी वृत्त बौद्धले शुक्रबार राति पक्राउ गरेको छ।
त्यस्तै, महानगरपालिका-३२ जडिबुटीबाट करिब ६ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरसहित सप्तरी खडक नगरपालिका-१ घर भई इमाडोल बस्ने २३ वर्षीय गौतम चौधरीसहित दुई जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो।
झापा गाउँपालिका-५ खयरबारीबाट १ ग्राम ९५ मिलिग्राम ब्राउनसुगरसहित बाह्रदशी गाउँपालिकाका २४ वर्षीय खड्ग राजवंशी र २५ वर्षीय चैतन हेमरमलाई प्रहरी चौकी शरणामतिले पक्राउ गरेको छ।
उता पर्साको वीरगंज-१६ बसपार्कबाट डाईजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा नम्बर १०४ बाट १२७ मिलिग्राम ब्राउनसुगरसहित डोटी जोरायलका २५ वर्षीय अमर बहादुर कुँवर पक्राउ परेका छन्।
यसैगरी भजनी नगरपालिका-३ कुसुमघाटबाट १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर र लु.प्र.०१-०१५ प ४७८९ नम्बरको मोटरसाइकलसहित टीकापुरका २२ वर्षीय रोशन सार्कीसहित दुई जनालाई प्रहरी चौकी जनकपुरले नियन्त्रणमा लिएको छ।
लमजुङको बेसीशहर-१ देउरालीडाँडाबाट ग.१० प ९९६९ नम्बरको स्कुटरमा सवार ३० वर्षीय सुजन तामाङलाई डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०/१० एम्पुलसहित इलाका प्रहरी कार्यालय भोटेओडारले पक्राउ गरेको छ।
सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट २ ग्राम १७० मिलिग्राम ब्राउनसुगरसहित दुहवीका ३४ वर्षीय दिपक परियार र उदयपुर बेलकाका ३२ वर्षीय बल बहादुर थापा पक्राउ परेका छन्।
यस्तै, बर्दियाको बढैयाताल-७ कर्णाली पुलबाट २ ग्राम ७१० मिलिग्राम ब्राउनसुगरसहित बाँके कोहलपुरका २१ वर्षीय सुशिल परियारलाई प्रहरी चौकी कालिकाले शनिबार दिउँसो नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १७:१६ शनिबार