अपराध

२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगरका चार फरक-फरक स्थानबाट मात्रै ४१ जना जुवाडे पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर-४ मुलपानीचोकस्थित ३५ वर्षीय सुशिल भारतीको घरबाट सुशिलसहित १२ जनालाई ४ लाख १ हजार ४ सय ८५ रूपैयाँसहित नियन्त्रणमा लियो।

त्यस्तै, वीरेन्द्रनगर-१० बुलबुले चोकबाट ४० वर्षीय अर्जुन जंग शाहीसहित १० जना १ लाख ८१ हजार १ सय रूपैयाँसहित र वीरेन्द्रनगर-३ गण्डकी लाइनबाट ५२ वर्षीय मानबहादुर गुरुङसहित ८ जना ३ लाख ७७ हजार ८ सय ५० रूपैयाँसहित पक्राउ परे।

वीरेन्द्रनगर-६ खोर्केलाइनबाट ४६ वर्षीय कबिराम विकसहित ११ जनालाई १ लाख २७ हजार ८५ रूपैयाँ र १३ बुक ताससहित आइतबार राति प्रहरीले पक्राउ गर्‍यो।

सर्लाहीका दुई स्थानबाट २६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले मलंगवा नगरपालिका-८ बाट ५३ वर्षीय रामबहादुर साहसहित ९ जनालाई ६ लाख ७८ हजार ५ सय ६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गर्‍यो।

यस्तै, ब्रह्मपुरी गाउँपालिका-१ बाट ४७ वर्षीय सुजित कुमार साहसहित १७ जना ३ लाख २० हजार १ सय ७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलस्थित साजन टेन्ट हाउसबाट २८ वर्षीय मनिष कुमार धामीसहित १८ जनालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूबाट १ लाख ६१ हजार ६ सय ४४ रूपैयाँ र ३ बुक तास बरामद गर्‍यो।

ललितपुरका दुई स्थानबाट ११ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-१३ झरूवाराशीस्थित ४५ वर्षीय राम सिंह खड्काको घरबाट राम सिंहसहित ९ जनालाई १ लाख ५८ हजार ७ सय १५ रूपैयाँ र ४ बुक ताससहित प्रहरी वृत्त चापागाउँले पक्राउ गर्‍यो।

गोदावरी-१० प्याङ्गाउँबाट ३१ वर्षीय सन्तोष तिमल्सिनासहित २ जनालाई ४० हजार ३ सय ५ रूपैयाँ र १ बुक ताससहित प्रहरीले समात्यो।

यसैगरी, काभ्रेको पाँचखाल नगरपालिका-७ शिखरपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा कौडा र तास खेलिरहेका ४७ वर्षीय सुवास दनुवारसहित ११ जनालाई प्रहरी चौकी पाँचखालले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट ६१ हजार ५ सय ९० रूपैयाँ, १६ थान कौडा र १ बुक तास बरामद भएको छ। पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।

प्रकाशित: २३ कार्तिक २०८३ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App