काठमाडौं– नेवा: समुदायले मनाउने संस्कृति मध्येको एक हो ‘जंकु’। ‘जंकु’ भन्नाले निश्चित आयू पार गरेपछि मनाइने खुसीयाली हो। नेवार समुदायमा बच्चाहुँदा गरिने ‘पास्नी र भात खुवाइलाई’ जन्कुको संज्ञामा राखे पनि ५ वटाले विषेश महत्व राख्ने गर्दछ।
नेवारी संस्कृति अनुसार ७७ वर्ष ७ महिना ७ दिनमा पहिलो जंकु गरिन्छ। जसलाई भिमरथारोहण महिना भनिन्छ। त्यस्तै ८२ वर्ष ४ महिना चार दिनमा दोस्रो जंकु गरिन्छ जसलाई चन्द्ररथारोहण भनिन्छ। तेस्रो ८८ वर्ष ८ महिना ८ दिनमा गरिन्छ जसलाई देवरथारोहण भनिन्छ। मानिसको चौथाें जंकु’ ९९ वर्ष ९ महिना ९ दिनमा गरिन्छ जसलाई दिव्यरथारोहण भनिन्छ।
यदी मानिस त्यो समय भन्दा पनि बढि बाँचिरह्यो भने उसको अन्तिम र पाँचौ जंकु १०५ वर्ष, ८ महिना, ८ दिनमा गरिन्छ। यसलाई महादिव्यरथारोहण भनिन्छ। यो अन्तिम जंकु गरिसकेपछि बृद्धबृद्धालाई देवी देवताको संज्ञामा राखिन्छ। श्रीमान श्रीमती दुवै राखेर मनाइने यो परम्परा आफूभन्दा ठूलाको चीर, सुख-शान्ति र स्वास्थ्य लाभको कामना गरि गरिन्छ।
भक्तपुरको सुकुलढोका बस्ने सूर्यमान ताम्राकारले यो साता आफ्नो दोश्रो जंकु मनाए। जसलाई चन्द्ररथारोहण भनिन्छ। भनाई अनुसार यो अवधिसम्म सूर्यमानले हजारवटा पूर्णचन्द्र देखिसकेका छन्। उनले यो क्षण आफ्नो परिवार, इष्टमित्र र अग्रजहरुसँग मनाए।
पेशाले तामाको भाँडा बनाउने ताम्राकार ८२ वर्ष हुँदासम्म आफ्नो मौलिक पेशा छाडेका छैनन्। सुकुलढोकाको गल्लीमा अहिले पनि ताम्राकारको छिनो र हम्बरको ध्वनी गुन्जिरहन्छ। यसरी बृद्धावस्थासम्म काम गर्दा छोराहरु नगर्न आग्रह गर्छन्, सघाउँछन् पनि। तर, यही पेशामा जीवन सुम्पिएका ताम्राकार मौका परिस्थिति मिल्ने वित्तिकै त्यही काममा फर्किहाल्छन्। आफूलाई जीवनसँग कुनै गुनासो नभएको र सबै कुरा पुगेको बताउँछन् ताम्राकार।
५ सन्तान र ८ नातिनातिनाका अभिभावक ताम्राकार आफ्नो दोश्रो जंकुसँगै नजिकैको ताम्राकार गुठीको पनि नाइके भएका छन्। ‘पहिलो जंकु पनि काट्दिन जस्तो लागेको थियो’, उनले भने, ‘अहिले दोस्रो जंकु गर्न पाउँदा खुशी लागेको छ।’ सूर्यमान दोश्रो जंकुपछि आफ्नो जीवन र कला परिवारलाई सुम्पने बताउँछन्।
परापूर्वकालमा जब अहिलेको जस्तो विकसित औषधिहरु थिएन, मानिसको औसत आयु ६०–६५ वर्ष हुने गथ्र्यो। ८० वर्षभन्दा बढी बाँच्नु नयाँ जीवन पाउनु समान हुन्थ्यो। यही कारणले पनि ब्राह्मण, क्षेत्री समाजमा ८४ र नेवार समुदायमा जंकुको चलन चलेको हुनसक्छ। तर जे होस्, जंकुजस्ता परम्पराले मौलिक इतिहास बोकेका छन्। यस्ता परम्पराले हामीलाई अग्रजको आदर र सम्मान गर्न सिकाएको छ।
प्रकाशित: ३ श्रावण २०७६ ०६:१५ शुक्रबार