भिडियो

प्रधानमन्त्री ओली युरोप भ्रमणका लागि प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ। 

जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नेछन्।  प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनेछन्। ओलीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका सार्थ भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ। 

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

बेलायतको भ्रमण पछि प्रधानमन्त्री फ्रान्स पुग्ने छन्। फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ। त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो। 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ। समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रीत हुने छ।

प्रकाशित: २५ जेष्ठ २०७६ १४:३१ शनिबार

प्रधानमन्त्री_ओली युरोप_भ्रमण प्रस्थान