भिडियो

‘चीनले हासिल गर्न नसकेको लक्ष्य ओली सरकारको छ, अर्थतन्त्र सुकुल गुण्डाजस्तो’ (भिडियो)

काठमाडौं– अर्थशास्त्री एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालकाे अर्थतन्त्र सुकुल गुण्डाजस्तो भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै लोहनीले नेपालको अहिलेको अर्थतन्त्र सुकुल गुण्डा अर्थतन्त्र भएको बताए। ‘घरमा सुत्नलाई सुकुलबाहेक केही छैन, खानलाई पनि केही छैन्। तर बाहिर हिड्दाखेरी कोट पाइन्ट लगाएर, डेन्टिङ–पेन्टिङ गरेर हेर्दाखेरी राम्रो भएर हिड्नेजस्तो छ हाम्रो अर्थतन्त्र’, उनले भने। 

नेपालको अर्थतन्त्रको सम्भावना रहे पनि विकासका दीर्घकालिन आधारहरु निर्माण नहुँदा डामाडोल अवस्थामा पुगेको उनले सुनाए। ‘हामी रेमिट्यान्सबाट मात्रै टिकिरहेका छौं। त्यसबाट आएको साधन, स्रोतको संरक्षण गर्ने संरचना र संयन्त्र नहुँदा विकासका दीर्घकालिन आधारहरु निर्माण हुन सकेका छैनन्। कृषि, पूर्वाधार निर्माण लगायतमा बेइमानी हुँदा कुनै निकाय जिम्मेवार छैन्। बलियो राज्य यहाँ देखिनुप-यो। दण्ड सजायँ गर्नुप-यो। त्यो छैन्’, उनले भने। भ्रष्ट सरकार, निजी क्षेत्र र कर्मचारीतन्त्रले जनता मारमा पर्ने र विकास पनि नहुने उनको भनाई छ।

विकास हुन सरकारको नीति ठिक हुनुपर्ने, अनुशासन चाहिने भन्दै लोहनीले प्रधानमन्त्री पनि जोगी मनस्थितीको हुनुपर्ने बताए। सरकार योजना र नीति पनि व्यवहारिक नभएको उनको भनाई छ। 

‘यति वर्षमा यो गर्ने, यहाँ पुग्ने भन्ने योजनाहरु हेर्दा त्यो कार्यान्वयन गर्न सकियो भने नेपालको औसत वृद्धिदर कम्तीमा १५ प्रतिशत हुनुपर्छ हरेक सेक्टरमा। जुन कि संसारमा अहिलेसम्म कसैले गर्न सकेको छैन्। चीनले पनि गर्न सकेको छैन्। उसको वृद्धिदर ९/१० प्रतिशत छ बढीमा। हामीले त्यस्तो लक्ष्य लिएका छौं’, उनले भने, ‘मान्छेलाई सपना दिने, भुलाउने तर काम नगर्ने प्रवृति हाबी भएको छ।’

अहिलेको परिवेशमा ट्रली बस, विद्युतीय सवारी उपयुक्त भए पनि सरकार मेट्रो रेलमा रमाइरहेको उनको भनाई छ। ‘अहिले मेट्रो रेलको कुरा आएको छ। ४० वर्षअघि यहाँ इलेक्ट्रिक ट्रान्सपोर्ट ट्रली बस थियो त्यो सकियो। ६ लेनको सडक बनेको छ। त्यसमा ट्रली बस किन नचलाउने? राणा समयमा बनेको रोप्वे पनि छ, त्यो किन नचलाउने? वीरगञ्जदेखि हेटौंडा, सिमरासम्म ट्रली बस किन नचलाउने?’ उनले प्रश्न गरे। 

प्रधानमन्त्री अव्यवहारिक र अनावश्यक योजना अघि सारेर ठट्टा गरिरहेको लोहनीको आरोप छ। ‘प्रधानमन्त्रीलाई इलेक्ट्रिक बस भनेर ५ वटा बसमा लगेर राखिदियो। इलेक्ट्रिक बस भनेर हात पनि हल्लाउनुभयो। तर त्यो बस यहाँको लागि ल्याएको पनि होइन रहेछ। थन्केर बसेको छ। यस्तो जोक गर्नहुन्छ शासनमा बसेको मान्छेले? नेपाली जनताको उपहास यो त’, उनले भने, ‘विराटनगरमा गएर गोबर ग्यास प्लान्टको उद्घाटन गर्नुभयो। अब घरघरमा ग्यासको पाइप आउँछ, सिलिण्डर बोक्नुपर्दैन भन्नुभयो, त्यो बन्द भइसक्यो अहिले। यो जोक होइन? सरकार र प्रधानमन्त्रीमा कुनै सिरियसनेश छैन्।’ 

‘लगानी भित्र्याउन लगानीकर्तालाई विश्वासमा लिनुपर्छ’

सरकारले लगानी सम्मेलन गर्नु राम्रो भए पनि लगानीकर्तालाई विश्वासमा लिनु चुनौतीपूर्ण रहेको उनको भनाई छ। तथ्यांकहरुले स्थिर सरकार आउँदा पनि लगानी घट्ने क्रममा रहेको देखाइरहेको भन्दै यसका कारणहरु खोज्नुपर्ने सुझाव उनले दिए। ‘स्थिर सरकार हुँदैमा लगानी आउने र विकास हुने भन्ने होइन। मुख्य कुरा नियत ठिक हुनुप-यो’, उनले भने। 

लगानी सम्मेलन गरेर मात्र नहुने र प्रतिबद्धताअनुसार रकम आयो कि आएन भनेर समीक्षा पनि गर्नुपर्ने औल्याउँदै उनले यसतर्फ राज्यको ध्यान जान नसकेको गुनासो गरे। ‘दुई वर्षअघि लगानी सम्मेलन हुँदा १४ खर्बको प्रतिबद्धता आयो। तर, १ खर्ब पनि भित्रिएको छैन्। त्यो किन आएन भन्ने कारण नखोजिएका बेला भर्खरै सम्पन्न लगानी सम्मेलनमा ३० खर्बको प्रतिबद्धता र १७ खर्बको सम्झौता भएको भन्ने छ। प्रतिबद्धताअनुसार लगानी आयो कि आएन भनेर खोजी हुनुपर्छ’, उनले थपे।

लगानीमा नाफा (प्रतिफल) र जोखिम हुने भन्दै यो राष्ट्र र लगानीकर्ताको पक्षमा हुनुपर्ने उनले बताए। जोखिम न्यून हुन नसकेकै कारण नेपालमा प्रतिबद्धताअनुसार लगानी नआएको उनको विश्लेषण छ। भ्रष्टाचार, कानुनी अड्चन र कुशासनका कारण वैदेशिक लगानी नआएको र स्वदेशी लगानीकर्ता पनि निराश बनेको उनले सुनाए। राज्यले निजी क्षेत्रलाई ठगका रुपमा बुझेको उनको भनाई छ। भाषण गरेर मात्र लगानीकर्ता नआउने भन्दै उनले उनीहरुलाई विश्वासमा लिनसक्नु ठूलो कुरा भएको बताए। 

एकता प्रक्रियामा आउन कमल थापालाई आग्रह

लोहनीले पार्टी एकता प्रक्रियामा आउन राप्रपाका अध्यक्ष कमल थापालाई आग्रह गरे। देशमा अहिले सत्ता बरालिएको र प्रतिपक्ष हराएको भन्दै लोहनीले एकीकृत राष्ट्रिय प्रजातान्त्रिक शक्ति बनाउनुपर्ने अवस्था आएको र यसका लागि थापा नेतृत्वको राप्रपा एकतामा आउनुपर्ने बताए।

प्रकाशित: २० चैत्र २०७५ १६:०६ बुधबार

नागरिक_फ्रन्टलाइन डा._प्रकाशचन्द्र_लोहनी सुकुलगुण्डा_अर्थतन्त्र