प्रविधि

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिङ सेवा केही समयअघि सुरु गरेको हो। यो सेवा नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भइसकेको छ। तर यसको अनावश्यक प्रयोगले फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेका छन्। लाइभ भिडियोसँगै प्राप्त हुने नोटिफिकेसनका कारण उनीहरू झनै आक्रोशित हुन थालेका हुन्। राम्रो प्रयोजनका निम्ति लाइभ भिडियो उत्तम भए पनि विनाकारण प्रयोगका कारण फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
फेसबुक लाइभको अनावश्यक नोटिफिकेसनले दिक्क मानिरहनुभएको छ भने आउनुस् यसलाई रोक्ने उपायबारे जानौँ।

 पहिले फेसबुक लगइन गरेर आफ्नो स्क्रिनको दायाँतर्फको ड्रपडाउनवाला आइकनमा क्लिक गर्नुस् । त्यपछि सेटिङ मेनुमा जानुहोस् । सेटिङमा क्लिक गरिसकेपछि त्यहाँ बायाँतर्फ नोटिफिकेसन भन्ने अप्सन देखिनेछ।  नोटिफिकेसन्स अप्सनमा क्लिक गरिसकेपछि तपाईंले अन फेसबुक नामक अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। अन फेसबुकभित्र विभिन्न खाले फिचर अन वा अफ के गर्ने भन्ने अप्सन हुन्छ । अन्तिमतिर लाइभ भिडियोज भन्ने अप्सन पनि राखिएको छ । त्यसको दायाँतर्फको आइकनमा अन, सजेसन्स अफ र अल अफ गरी तीनटा विकल्प छन् । त्यसमध्ये अल अफ नामक अप्सन छान्नुहोस् । सेटिङमा यो परिवर्तन गरेपछि फेसबुक लाइभको कुनै पनि नोटिफिकेसन तपाईंलाई प्राप्त हुने छैन।


तपाईंलाई कसैले आफ्नो फेसबुक लाइभका लागि इन्भाइट गर्छ तर तपाईं त्यस्तो निम्तो नआओस् भन्ने चाहनुहुन्छ भने फेसबुकको सेटिङमा रहेको ब्लकिङ अप्सनभित्र गएर ब्लक एप्स इन्भाइटमा त्यस्तो निम्तो पठाउने मानिसको नाम टाइप गरिदिनुस्। त्यसपछि तपाईंलाई त्यस साथीबाट त्यस्तो निम्तो पुनः आउने छैन।

प्रकाशित: ३१ भाद्र २०७३ ०८:२५ शुक्रबार

फेसबुकको लाइभ भिडियोले तनाव दियो यसो गर्नुहोस्