प्रविधि

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

काठमाडौं- नेपाल टेलिकमले मोबाइलमा एमएसमार्फत मौसमसम्बन्धी जानकारी गराउने भएको छ। बिहीबार नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत जानकारी गराउनेबारे सम्झौता भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक ऋषिराम शर्माले हस्ताक्षर गरे। यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ।

सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोसी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद् सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइने टेलिकमले जनाएको छ।

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ। विभागले ११५५ कोडको प्रयोग गरी विशेषगरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा एसएमएसमार्फत आवश्यक जानकारी पठाउने छ।

टेलिकमका प्रबन्ध निर्देशक आचार्यले विपद्को पूर्वजानकारी सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकाले कम्पनीले मौसम विज्ञान विभागसँग सहकार्य गरेको बताए। मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए। 

मौसम विज्ञान विभागका महानिर्देशक शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्राकृतिक विपद्को क्षति न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने जानकारी गराए। 

वर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेका बेला कम्पनी र विभागबीचको यो सहकार्यले जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ श्रावण २०७३ ०५:२६ शुक्रबार

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने