डिफेन्डिङ च्याम्पियन रहेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले पुनः ५ औं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मोरङको बेलबारी–११ स्थित लक्ष्मीमार्गमा बुधबार भएको फाइनल खेलमा एपिएफले धनकुटाको राजारानी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुनः उपाधिमाथि कब्जा जमाएको हो। मध्यान्तरअघि दुवै टोली गोल रहित बराबरीमा खेलेको थियो। हरि कार्कीले गरेको गोल नै निर्णाय बनेपछि एपिएफले उपाधि जितेको हो।
खेलको ४८ औं मिनेटमा कार्कीले टोलीका लागि गोल गरेका थिए। राजारानीका गोलरक्षक पुजन होनाले बल क्लीयर गर्न खोज्दा बल रिबाउण्ड भएको मौकाको फाइदा उठाउँदै कार्की गरेको प्रहार सिधा गोलमा परिणत भयो।
खेलको म्यान अफ द म्याच एपिएफका हरि कार्कीले ५ हजार रुपैयाँ प्राप्त गरे। उपाधि जितेको एपिएफले ८ लाख १ हजार रुपैयाँ र उपविजेता रहेको राजारानीले ४ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे। त्यसैगरी, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक एपिएफका राजु नगरकोटी, उत्कृष्ट मिडफिल्डर, सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षक एपिएफका मनी लामा, टोपबहादुर विष्ट र सुदीप श्रेष्ठ भए ।
राजारानीका पिटर सैगुन उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्ट्राइकर बुद्ध चेम्जोङ भए। आयोजक डाँगीहाट युथ क्लबका काशिम राई उदयमान खेलाडी तथा सिरहाको सहलेश युवा क्लबका फोडे फोफोना सर्वाधिक गोलकर्ता भए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा गोलरक्षक, डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र मिडफिल्डरले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ पाए । नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहेको थियो।
प्रकाशित: २३ कार्तिक २०७९ १३:५१ बुधबार