खेल

ह्यान्डबलमा गण्डकी र आर्मी भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि सुरु हुने पुरुष ह्यान्डबलतर्फ आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मी क्लब भिड्ने भएका छन्।

नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमिति र नेपाल ह्यान्डबल संघले जारी गरेको खेलतालिका अनुसार सोमबार बिहान ८ः०० बजे गण्डकी र आर्मी भिड्ने भएका हुन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा ह्यान्डबलका प्रतिस्पर्धा हुँदैछन्।

आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता हो। आर्मीले कांस्य पदक जितेको थियो। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २०औं राष्ट्रिय पुरुष तथा ११औं महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको खेलतालिका अनुसार समूह ‘ए’ मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश छन्।

समूह ‘बी’ मा भने अर्को विभागीय टोली एपिएफ, लुम्बिनी, प्रदेश-१ र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन्। पुलिस र एनआरएनले भने यसमा प्रतिस्पर्धा गरेका छैनन्। महिलातर्फ समूह ‘ए’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी तथा समूह ‘बी’ मा नेपाल आर्मी, प्रदेश–१, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश छन्। नेपाल ह्यान्डबल संघका महासचिव सन्देश रेग्मी अनुसार उद्घाटन खेल सोमबार दिउँसो तीन बजे हुनेछ। नवौं राष्ट्रियअन्तर्गत सोमबार महिला र पुरुषका गरी आठ वटा खेल सञ्चालन हुनेछन्। नवौं राष्ट्रिय खेलकुदमा ह्यान्डबल असोज २९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २४ आश्विन २०७९ ०१:५० सोमबार

आठौंं राष्ट्रिय खेलकुद ह्यान्डबलमा गण्डकी र आर्मी भिड्दै