खेल

विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।

नोभेम्बर २० बाट सुरु हुने विश्वकपको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारको सामना गर्नेछ। चिली र पेरुले इक्वेडरका रक्षक बेरोन कास्टेल्लो गैरनागरिक भएको दाबीसहित अपिल गरेका थिए। उनले इक्वेडरबाट विश्वकप छनोटको आठ खेल खेलेका थिए। चिली फुटबल फेडरेसन(एफएफसिएच) ले आफूहरूसँग कास्टेल्लो इक्वेडरको नागरिक नभएको पर्याप्त प्रमाण भएको बताउँदै आएका छन्। एफएफसिएचले उनी सन् १९९५ मा कोलम्बियामा जन्मिएको दाबी गरेको छ। नागरिकतामा भने उनी सन् १९९८ को नोभेम्बरमा इक्वेडरको प्लेयसमा जन्मिएको उल्लेख छ।

एफएचसिएचले उनले झुटो नागरिकता बनाएको आरोपसमेत लगाएको छ। ‘बेरोन कास्टेल्लो इक्वेडरका नागरिक हुन्,’फिफाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनीविरुद्ध चिली र पेरुले गरेको अपिलको प्रमाण अपुग छ।’ इक्वेडरले दक्षिण अमेरिकी विश्वकप छनोटको चौथो स्थानमा रहँदै कतारको यात्रा तय गरेको थियो। दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार टोली स्वत् विश्वकपमा छनोट हुने प्रावधान छ। ब्राजिल, अर्जेन्टिना र उरुग्वेले क्रमशः शीर्ष तीनमा रहँदै कतारको यात्रा पक्का गरेका थिए। पाँचौं स्थानको टोलीले भने अन्तरमहादेशीय प्लेअफका लागि अवसर पाएको थियो।

इक्वेडरले समूह चरणमा कतारसँगै सेनेगल र नेदरल्यान्डसविरुद्ध खेल्नेछ। पाँचौं स्थानमा बस्दै छनोट चरणको अन्त्य गरेको पेरुले प्लेअफमा अस्ट्रेलियालाई नतिजा सुम्पिएको थियो। चिली भने छनोटको सातौं स्थानमा खुम्चिन पुग्यो। चिली र पेरुविरुद्धको समान दुई खेलमा इक्वेडरले एक जित र एक बराबरीको नतिजा ल्याएको थियो।

प्रकाशित: २ आश्विन २०७९ ०१:१६ आइतबार

विश्व फुटबल महासंघ(फिफा) विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज