खेल

हालान्डको लय जारी

इर्लिङ हालान्डले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार एस्टन भिल्लासँग पनि यादगार प्रदर्शन निरन्तरता दिँदा म्यानचेस्टर सिटी अंक जोड्न सफल भएको छ।

बोरुसिया डर्टमन्डबाट यसै सिजन ५१ मिलियन पाउन्डमा म्यानचेस्टरको क्लबमा अनुबन्धित हालान्डले ५०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। यस अघि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। सिटी दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रियो र ५०औं मिनेटमा अग्रता पनि लियो। तर, सिटीले त्यो अग्रता जोगाउन भने सकेन।

पछि परेको अवस्थामा पनि सम्हालिएको प्रदर्शन गर्दै काउन्टरको प्रयासमा रहेको भिल्लाले ७४औं मिनेटमा बराबरी गोल फर्कायो। लियोन बेलीले गोल फर्काउँदै भिल्लालाई १–१ को बराबरीमा ल्याए।

बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफलता पाउन सकेनन्। रेलिगेसन क्षेत्रभन्दा माथि उठ्न संघर्ष गरिरहेको भिल्लासँग रोकिएसँगै सिटीले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो।

६ खेलबाट १४ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ। घरेलु मैदानमा अंक बाँडेको भिल्ला अंकतालिकाको १७औं स्थानमा छ। छैटौं खेल सकिँदासम्म सिटीका लागि हालान्डले १०औं गोल पूरा गरेका छन्। मिकी क्विनले सन् १९९२ बनाएको कीर्तिमान पनि नर्वेका स्ट्राइकर हालान्डले बराबरी गरेका छन्।

सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा सिटीका प्रशिक्षक पेप ग्वार्डिओला निरास भएका छन्। ‘हामीले पहिलो हाफमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा महँगो भयो। दोस्रो हाफमा पनि दबाब दिएर खेल्यौं र अवसर पनि उतिकै सिर्जना भए। तर, गोल निस्किएन।

जुन हाम्रा लागि दुर्भाग्य रह्यो,’सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘रक्षापंक्तिमा टोलीले सतप्रतिशत दिएर खेले पनि अग्रपंक्तिमा राम्रो हुन सकेन।’ नयाँ सिजनमा सिटीले एक गोल मात्र गरेको यो पहिलो खेल हो। यस अघिका खेलमा सिटीले एकभन्दा बढी गोल गरेको छ।

सिटीले पाँच खेलमा १९ गोल गरिसकेको छ। बराबरीसँगै अंक खोसेको भिल्ला रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि उक्लिएको छ। बलियो टोली सिटीविरुद्ध अंक खोसेको भिल्लाका प्रशिक्षक स्टेभन जेरार्डले नयाँ सिजनका खेलमा अंक गुमाइरहेको अवस्थामा एक अंक भए पनि अंकतालिकामा थपिनु सुखद रहेको प्रतिक्रिया दिए। ‘सबै प्रशिक्षकले सुखद खोजिरहेको हुन्छन्।

जित या हार खेलको पाटो हो। टोलीले आजको खेलमा राम्रो खेल्यो। सन्तोष हुने आधार धेरै छन्,’भिल्ला प्रशिक्षक जेरार्डले भने, ‘यो सिजन धेरै अंक गुमाइसकेका छौं। आगामी खेलमा सुधार गर्दै अंक जोड्नुको विकल्प छैन।’

शनिबार नै भएको अर्को खेलमा चेल्सीले वेस्टह्याम युनाइटेड र टोटेनह्यामले फुलह्याममाथि समान २–१ को जित निकाल्दै अंकतालिकामा तीन अंक थप्यो।

अर्को खेलमा ब्रेन्टफोर्डले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ५–२ को रबाफिलो जित निकाल्यो। बर्नमाउथले नटिङ्घम फरेस्टको मैदानमा ३–२ को रोमाञ्चक जित निकाल्दा साउथह्याम्पटन उल्भ्ससँग १–० ले पराजित भयो। न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेस तथा लिभरपुल र एभर्टनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: २० भाद्र २०७९ ०१:३४ सोमबार