खेल

व्यग्र प्रतीक्षामा शीर्ष क्लब

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड र युरोपका अन्य चर्चित क्लबहरू यस सिजनको च्याम्पियन्स लिग ‘ड्र’ बिहीबार सार्वजनिक भएपछि आफ्ना योजनाहरू बनाउन ब्यस्त हुनेछन्।

यस सिजनको च्याम्पियन्स लिगको ‘ड्र’ बिहीबार इस्तानबुलमा हुँदै छ। योजनाअनुरूप नै भएमा यस सिजनको च्याम्पियन्स लिग फाइनलमा आगामी वर्षको जुन १० टर्कीको राजधानीमा रहेको एटाटर्क ओलम्पिक स्टेडियममा हुनेछ। यो मैदानमा सन् २००५ मा सम्पन्न च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले एसी मिलानलाई स्तब्ध बनाएको थियो।

लिभरपुलले पेनाल्टी सुटआउटमा इटालियन प्रतिद्वन्द्वीलाई स्तब्ध बनाएको थियो। इस्तानबुलमा सन् २०२० र २०२१ को फाइनल तय गरिए पनि युइएफएले महामारीका कारण पछि पोर्चुगल सार्‍यो। गत सिजन पनि अन्तिम समयमा च्याम्पियन्स लिग फाइनल सारिएको थियो।

रसियाले युक्रेनमाथि आक्रमण गरेपश्चात् सेन्ट पिटसबर्गले उक्त आयोजना गुमाउनुपर्‍यो। त्यो आयोजना पेरिसले पायो, जहाँ इङ्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियाल मड्रिडसँग १-० ले स्तब्ध बन्न पुग्यो। त्यो उपाधिसँगै रियालले युरोपको चर्चित उपाधि १४ पटक उचाल्यो। रियालपछि दोस्रो सफल क्लब एसी मिलान हो, जसले सात पटक यो सफलता पाएको छ। रियालले हेलसिन्कीमा भएको युइएफए सुपर कपको फाइनलमा आइनट्य्राक्ट फ्रान्कफर्टलाई हराउँदै यस सिजनको पनि राम्रो सुरुआत गरेको छ।

‘जब त्यसको किसिमको जित प्राप्त हुँदै जान्छ, त्यसपछि मात्र सन्तुष्टि र खुसी मिल्छ। कसैले आफ्नो स्थान लिन कठिन छ भने आत्मबल पनि बढ्दै जानेछ। यसले जित निकाल्न उत्प्रेरणा मिल्ने गर्छ,’ रियालका प्रशिक्षक कार्लो एन्सेलोटीलाई उनको टोली फेरि यो उपाधि जित्न सक्षम छ भन्ने प्रश्न गर्दा उनले युइएफएको अन्तर्वार्ताका क्रममा यो धारणा राखेका थिए।

रियालका गोलकिपर थिबाउट कर्टुवा र करिम बेन्जिमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुएनासँगै युइएफएको वर्ष पुरुष खेलाडीको मनोनयनमा परेपछि स्पेनिस क्लबको सफलताले पनि थप सार्थकता पायो। एन्सेलोटी पनि उत्कृष्ट प्रशिक्षकको सूचीमा सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गान क्लोपसँगै समावेश थिए।

रियाल ‘ड्र’ को पट वानमा छ। जहाँ युरोपको शीर्ष लिग विजेता सिटी, बायर्न म्युनिख, मिलान, पेरिस सेन्ट जर्मेन, पोर्टो, अयाक्सका साथै युरोपा लिग विजेता फ्रान्कफर्ट पनि रहनेछ। लिभरपुल भने पट ‘टु’ मा छ। त्यसैले गत सिजनको च्याम्पियन्स लिग फाइनलिस्ट रियाल र लिभरपुल समूहमा नै भिड्ने सम्भावना छ। सन् २०२१ को च्याम्पियन्स लिग विजेता चेल्सी र टोटेनह्याम हट्सपर अर्का इङ्लिस टोली हुन्। सेल्टिक पट ‘फोर’ मा छ, जो सन् २०१७ पछि च्याम्पियन्स लिगमा फर्किएको हो।   युक्रेनसँगको युद्धका कारण रसियन क्लबहरू यस सिजन प्रतिबन्धमा परेका छन्। युक्रेनबाट भने सख्तर डोनेस्कले प्रतिनिधित्व गर्दै छ। 

प्रकाशित: ९ भाद्र २०७९ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App