प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।
डार्बिन नुनेजले प्रभाव जमाएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी सिटीलाई हार चखाउँदै कम्युनिटी सिल्डमा सफलता पाएको हो। यी दुई क्लबले दुई ठूला अनुबन्धन गरेका थिए। बेन्चबाट मैदान प्रवेश गरेका नुनेजले एउटा पेनाल्टी अवसर सिर्जना गर्दै एक गोल पनि गरे।
बेनफिकाबाट ७५ मिलियन युरोमा लिभरपुल अनुबन्धित भएपछि नुनेजको यो पहिलो गोल पनि हो। तर, सिटीका डेब्युटेन्ट इर्लिङ हल्यान्डका लागि यो खेल बिर्सनलायक रह्यो। ‘उनी राम्रा खेलाडी हुन्,’ प्रिसिजनको प्रदर्शनलाई लिएर आलोचना खेपिरहेका नुनेजबारे प्रशिक्षक क्लोपले भने, ‘आज हामीले चलाखीपूर्ण पासहरू सिर्जना गर्यौं। डार्बिनले ती उत्कृष्ट अवसर बनाएको पनि देख्यौं। स्पेस बनाएर राम्रो फिनिस गर्ने क्षमता उनमा छ।’
लिभरपुलबाट अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गराएका खेलाडीले राम्रो प्रभाव जमाएको प्रशिक्षक क्लोपको बुझाइ छ। ‘दोस्रो रोजाइका सबै खेलाडी केही फरक देखिए। सबैभन्दा महत्त्वपूर्ण हाम्रा सबै खेलाडी तयार रहेछन् भन्ने मैले बुझेँ,’ लिभरपुलका प्रशिक्षक क्लोपको भनाइ थियो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको सशक्त प्रहारबाट लिभरपुलले लेस्टरमा पहिलो हाफमा नै अग्रता लियो। तर, सिटीका नयाँ फरवार्ड युलियन एल्भारेजको गोलबाट पेप ग्वार्डिओलाको टोली खेलमा फर्कियो। मोहम्मद सालाहलाई तीन वर्ष क्लबमा नै राख्नु लिभरपुलका लागि यो वर्ष सबैभन्दा ठूलो चुनौती रह्यो।
इजिप्टका स्टार सालाहकै पेनाल्टी गोलमा लिभरपुलले पुनः अग्रता लियो। नुनेजको हेडर सिटीका रुबेन डियाजले ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको हो। उरुग्वेका स्टार नुनेजले अर्को यादगार अवसर पनि बनाए। खेलको अतिरिक्त समयमा नुनेजले गोल गरेपछि आफ्नो टिसर्ट खोलेर उत्सव मनाए। लिभरपुलले यो विजयपछि आगामी सिजन पनि आफू प्रिमियर लिगको बलियो दाबेदार रहेको संकेत गर्यो। सिटीले गत सिजनमा लिभरपुललाई हराएपछि एक अंकको अग्रतासहित प्रिमियर लिगको उपाधि पक्का गरेको थियो। पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि पनि रह्यो।
गत सिजनको अन्त्यमा पनि ग्वार्डिओलाको टोलीले एस्टन भिल्लासँग २–० ले पछाडि परेको स्थितिमा उत्कृष्ट पुनरागमन गरेको थियो। प्रिसिजनमा सिटीले दुई र लिभरपुलले चार मैत्रीपूर्ण खेल खेलेका छन्। सिटीका हल्याान्डको पहिलो प्रहारलाई लिभरपुलका दोस्रो रोजाइको गोलकिपर एड्रियनले बिफल पारेका थिए। नर्वेका स्टार हल्यान्डले जाओ कान्सेलोको क्रसमा अर्को अवसर पाए पनि उनी गोल गर्न सफल भएनन्। ‘नयाँ देश र नयाँ लिगमा उनलाई अभ्यस्त हुन समय लाग्छ,’ हल्यान्डको इङ्लिस फुटबलमा डेब्युपछि ग्वार्डिओलाले भने, ‘उनी आज थिए। तर, गोल गरेनन्। अर्को दिन उनले गोल गर्नेछन्।’
प्रकाशित: १६ श्रावण २०७९ ०१:३६ सोमबार