खेल

गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन्। कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन्। उनले २१–१५,२१–११ को सेटमा पराजित गर्दै उपाधि उचालिन्।  

पुरुष तर्फको प्रतिस्पर्धामा भने नवलपुरका क्षितिज खनालले उपाधि उचाले। उनलाई कास्कीका विधान अधिकारीले तेस्रो सेटको प्रतिस्पर्धामा खेल त्यागिदिए। पहिलो सेट अधिकारीले आफनो पक्षमा पारेका थिए। दोस्रो सेट भने खनालले कम व्याक हुदैं प्रतिस्पर्धात्मक बनाए। यद्यपी तेस्रो सेटमा आईपुग्दा अधिकारीले खेल बीचैमा छाडे। अधिकारीले पहिलो सेट २१–१९ मा लिएका थिए भने दोस्रो सेट खनालले २१–१५मा आफनो पक्षमा पार्दै निर्णायक सेटमा पुर्याएका थिए।  

कास्कीका विशाल खड्का र लमजुङका सुजन थापा तेस्रो स्थानमा रहे। महिला डबल्स तर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले। गुरुङ र रानाको जोडीले पुन र श्रेष्ठको जोडीलाई २१–१५, २४–२६ र २१–१५को सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भए ।मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे।  

पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो। उनीहरुको जोडीले लमजुङका सुजन थापा र स्याङजाका दिपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि उचाले। कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो स्थानमा रह ।  

प्रतियोगितामा महिला एकल तर्फकी विजेताले नगद १५ हजार प्राप्त गरिन्। दोस्रो र तेस्रो हुनेले क्रमश १०÷१० हजार प्राप्त गरे। पुरुष एकल तर्फको विजेताले नगद २० हजार र उपविजेतासँगै तेस्रो हुने खेलाडीले नगद १०÷१० हजार पाउँदा पुरुष डबल्स तर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार पाए । महिला डबल्स तर्फको विजेताले नगद ३०, उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार नगद प्राप्त गरेको प्रतियोगिताका संयोजक अर्जुन पोखरेलले बताए। प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

प्रकाशित: १२ असार २०७९ ०९:२२ आइतबार

गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन