खेल

अन्तिम चरणमा रोचक भिडन्त

एस्टन भिल्लाविरुद्ध आइतबार सुखद नतिजा निकालेमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधि रक्षाको लक्ष्यलाई पूर्णता दिनेछ। अन्तिम चरणको खेल बाँकी रहँदा सिटी दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले अघि छ।

लिभरपुल भने प्रिमियर लिगको उपाधिका साथ एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको लक्ष्य कायम राख्न चाहन्छ। पेप ग्वार्डिओलाको टोलीले भिल्लामाथि जित निकालेमा पछिल्ला पाँच वर्षमा चौथो पटक प्रिमियर लिगको उपाधि पक्का गर्नेछ। ‘सिजनको अन्तिम दिन उपाधि छिनोफानो हुँदै छ,’ग्वार्डिओलाले भने, ‘हामीले भिल्लामाथि तीन अंक लिएमा अन्य खेलको नतिजाले हामीलाई असर गर्दैन। हार वा बराबरी सामना हुँदा लिभरपुलले पनि उल्भरह्याम्पटनसँग अंक बाँडेको वा हारको कामना गर्नुपर्नेछ। लिगको रोचकता अभैm बाँकी छ।’ सिटी अन्तिम मिनेटमा सम्हालिन नसक्दा च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्नबाट वञ्चित भएको थियो।

रियाल मड्रिडविरुद्ध सेमिफाइनलको पहिलो लेग जितेको सिटी दोस्रो लेगमा दुई गोलको अग्रता जोगाउन नसक्दा स्तब्ध भएको थियो। ‘प्रिमियर लिग उपाधि भिडन्त यस्तो चरणमा प्रवेश गरेको छ। जहाँ यो उपाधिभन्दा च्याम्पियन्स लिगको उपाधि जित्न सहज छ जस्तो लाग्छ,’ग्वार्डिओलाले भने, ‘खेलाडीहरूलाई सहज अग्रताका साथ च्याम्पियन्स लिग फाइनलको संघारमा पुगे पनि बाहिरिनुको पीडा राम्रोसँग थाहा छ।’ लिभरपुलले आगामी साता पेरिसमा च्याम्पियन्स लिग फाइनलमा रियालको सामना गर्नेछ। यसअघि नै इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेको योर्गान क्लोपको टोली प्रिमियर लिगको उपाधिका साथ एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको सम्भावना जीवित राख्न चाहन्छ।

लिभरपुलले एफए कप र लिग कप गरी दुवै फाइनलमा चेल्सीलाई निराश पारेको थियो। ‘कल्पना गर्नुस्, कसैले सिजन सुरुआतअघि नै तपाईहरू तीन प्रतियोगिताको फाइनल प्रवेश गर्छौं र लिग उपाधिको पनि संघारमा पुग्छौं भन्यो,’क्लोपले भने, ‘सुरुआतमा ती सबै सपना लाग्न सक्छ। तर खेलाडीहरूले त्यसलाई सार्थकता दिएका छन्। हामीसँग एकै सिजन चार उपाधि जित्ने सम्भावना कायम राख्न मात्र दुई खेल बाँकी छ, उल्भरह्याम्पनटनविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने हाम्रो लक्ष्य अपूर्ण बन्न सक्छ।’

भिल्लाका प्रशिक्षक स्टेभन जेरार्डले लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने क्रममा कहिले पनि प्रिमियर लिगको उपाधि जितेनन् तर इतिहाद रंगशालामा सिटीलाई रोकेमा उनले पूर्व क्लबलाई प्रिमियर लिगको उपाधि दिलाउन सक्छन्। सिटीको एस्टन भिल्लासँग हार वा बराबरी खेलेमा लिभरपुलको उपाधि सम्भावना बढ्नेछ। लिभरपुलले पनि अंक बाँडेमा र नतिजा सुम्पिएमा हारका बाबजुद पनि सिटीले उपाधि पक्का गर्नेछ। शीर्ष स्थानको सिटीसँगै दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन्।

चौथो स्थानका लागि टोटनहम र आर्सनलबीच प्रतिस्पर्धा रहेको छ। आइतबार अन्तिम खेलमा रेलिगेसनमा परिसकेको नर्विच सिटीसँग अंक बाँडे मात्र पनि टोटनहम च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। लगातार दुई खेलमा नतिजा सुम्पिएपछि आर्सनलको भने ६ वर्षपछि च्याम्पियन्स लिगमा पुनरागमन गर्ने लक्ष्यमा धक्का लागेको थियो। आर्सनललाई च्याम्पियन्स लिग पुनरागमन सम्भावना कायम राख्न एभर्टनविरुद्ध जितका साथै टोटनहमले नर्विचविरुद्ध हारको कामना गर्नुपर्नेछ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०५:५० आइतबार

म्यानचेस्टर सिटी सुखद नतिजा अन्तिम चरणमा रोचक भिडन्त