खेल

अर्टेटाद्वारा टोलीको आलोचना

इङ्लिस प्रिमियर लिग तालिकाको १२औं स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग सोमबार २–० ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले सिजनको मिहिनेत खेर गएको भन्दै आफ्नै टोलीको आलोचना गरेका छन्।

शीर्ष चारभित्र अटाउन संघर्ष गरिरहेको आर्सनल न्युक्यासललाई खेल सुम्पिएसँगै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सूचीबाट टाढिने संघारमा पुगेको हो। यस सिजन पनि आर्सनल शीर्ष चारबाट बाहिर रहे लगातार छैटौं पटक च्याम्पियन्स लिगबाट बाहिरिनेछ।

उता होडमा रहेको टोटेनह्यामलाई पनि आर्सनलको हारले राहत पुगेको छ। ३७ खेलमा ६६ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ। जुन चौथो स्थानको टोटनह्यामभन्दा दुई अंकले पछाडि छ। पछिल्लो खेलमा टोटह्यामलाई ३–० को नतिजा सुम्पिएपछि पाँचौं स्थानमा झरेको आर्सनल न्युक्यासलसँगको हारपछि थप दबाबमा परेको हो। यद्यपि आर्सनल सन् २०१६ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छ।

आर्सनलले अब प्रिमियर लिगको चौथो स्थान पक्का गर्दै च्याम्पियन्स लिग खेल्नका लागि अन्तिम खेलमा एभर्टनमाथि जित निकालेर मात्र पर्याप्त हुँदैन। त्यसका लागि टोटनह्यामले नर्विच सिटीलाई नतिजा सुम्पिनुपर्नेछ।

न्युक्यासलले आतिथ्यता गरेको आर्सनसँग घरेलु टोलीले गोलरहित बराबरी खेलेको थियो। ५५औं मिनेटमा आर्सनलका बेन ह्वाइटको आत्मघाती गोलमा न्युक्यासलले अग्रता लिएको थियो। त्यसपछि मनोबल उच्च बनाएको न्युक्यासलले खेल सकिन पाँच मिनेट बाँकी रहँदा ब्रुनो ग्युमारेजको गोलमा अग्रता दोब्बर पारेको थियो। आर्सनल बराबरी गोलका लागि अगाडि बढेको मौकामा न्युक्यासलले अग्रता बढाएको थियो र उक्त निर्णय नै अन्तिम बन्यो। यस्तै सोमबार आर्सनल पराजित भएपछि चेल्सीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने पक्का पनि भएको छ।

लक्ष्य कमजोर हुँदै गएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले नतिजा आत्मसात् गर्न निकै कठिन भएको प्रतिक्रिया दिए।

‘आजको खेलबाट निक्लिएको नतिजा आत्मसात् गर्न निकै कठिन भएको छ,’ आर्सनल प्रशिक्षक अर्टेटाले भने, ‘राम्रो खेल देखाएको न्युक्यासल जितको हकदार थियो। सुरुआती समयबाट नै टोलीले उत्कृष्ट खेल देखाएको थियो। तर हाम्रो खेल कुनै पनि पक्षमा राम्रो हुन सकेन। हामीलाई मानसिक दबाब निकै भयो।’

‘न्युक्यासलले हामीभन्दा १० गुणा राम्रो खेल्यो। च्याम्पियन्स लिगमा स्थान बनाउन हामीलाई सोही खेल आवश्यक थियो,’ मिकेल अर्टेटाले थपे, ‘यस हारसँगै हाम्रो च्याम्पियन्स लिग सम्भावना टरेको छ।’

बलियो र संघर्ष गरिरहेको टोलीमाथिको विजयी नतिजाले सिजनको अन्तिमतिर टोलीलाई राहत मिलेको न्युक्यासल युनाइटेडका प्रशिक्षक एड्डी हावेले बताए।

‘आजको खेलमा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। आजको खेलमा प्रभावित भएको छु। आगामी सिजनका लागि यो खेल उदाहरण बन्नेछ,’ प्रशिक्षक एड्डी हावेले भने, ‘सिजनको अन्तिमतिर भए पनि खेलमा स्तरीय प्रदर्शन देखाउन सक्यौं। आगामी सिजन बलियो क्लबको रूपमा उदाउनेमा म विश्वस्त छु।’

इङ्लिस प्रिमियर लिगको सिजन सकिनै लागे उपाधि जित्ने टोलीको टुङ्गो लागेको छैन। साबिक विजेता म्यानचेस्टर सिटीले शीर्षता कायम राखिरहे पनि एक खेल कम खेलेको लिभरपुलको उत्तिकै सम्भावना छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:२६ बुधबार

अर्टेटाद्वारा टोलीको आलोचना प्रशिक्षक एड्डी हावे