खेल

क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिगको तयारी

कास्कीको क्रिकेट विकासको लागि नयाँ योजना सार्वजनिक गर्दै क्लबस्तरीय शनिबारीय क्रिकेट लिग गर्ने तयारी गरेको छ। यही माघ २९ गते शनिबारदेखि क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गरिने कास्की जिल्ला क्रिकेट संघले उल्लेख गरेको छ। संघले पहिलो पटक शनिबारीय लिग आयोजना गर्दै खेलाडीलाई व्यस्त बनाउने योजना अघि सारेको हो।  

शनिबारीय लिग दशहप्ता चल्ने छ। उदघाटनमा एक खेल खेलाईनेछ । ‘उदघाटन बाहेक अन्य शनिबार दुई खेल खेलाईने,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘६ क्लबले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन्।’ उनका अनुसार राउण्ड रोविन पछि शीर्ष दुईमा रहने क्लब फाईनल खेल्ने छन्।  

‘अहिले क्लबले नै खर्च व्यहोर्छन। पछि प्रायोजकलाई जोड्दै जाने छौं,’ अध्यक्ष सिग्देलले भने, ‘क्लबस्तरीय टी–२० शनिबार लिग गरिसकेपछि संघले एकदिवसीय लिग(वान डे)आयोजना गर्ने छ।’ लिगको तयारीको लागि संघले क्लबलाई पोखरा रंगशाला क्रिकेट मैदानभित्र निर्माण गरिएको नेट्स प्रशिक्षणको लागि उपलब्ध गराईने छ। प्रत्येक क्लबलाई एक–एक दिन प्रशिक्षणको लागि उपलब्ध गराईने छ। लिग गर्न संघले दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।  

लिगमा सहभागिता जनाउने क्लबसँग शुल्क लिईने समेत संघले जनाएको छ। नयाँ क्लबको रुपमा राईजिङ पोखरा क्रिकेट क्लब र कास्की क्रिकेट क्लब आवद्ध भएका छन । पोखरा क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबसहित दुई नयाँ क्लबले लिग च्याम्पियनसिपमा सहभागिता जनाउने छन्।  

संघले कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने समेत जमर्को गरेको छ। पछिल्लो भेरियन्ट ओमिक्रोनको अवस्थाले कस्तो परिस्थति सृजना हुन्छ त्यही अनुसार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने विषयमा निर्णय गरिने समेत कास्की जिल्ला क्रिकेट संघले जनाएको छ।  

संघले विद्यालयस्तरीय प्रतियोगितासँगै महिला क्रिकेट प्रतियोगितालाई समेत आयोजना गर्ने योजना बनाएको छ। कास्की जिल्ला महिला क्रिकेट निकै सुस्ताएको अवस्थाले पनि महिला क्रिकेटको उत्थान गर्न संघले महिला क्रिकेटलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष सिग्देलले सुनाए। यसैबीच संघले क्रिकेटका पूर्व खेलाडी विपिन रन्जितको निधनप्रति दुःख प्रकट गर्दै पोखरा रंगशाला क्रिकेट मैदानमा श्रद्धाञ्जली अर्पण गरेको छ। रन्जित पोखरा क्रिकेट क्लबको पूर्व खेलाडी समेत हुन् । संघका अध्यक्ष सिग्देल, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रकाशित: २६ माघ २०७८ ०९:३७ बुधबार

क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट