खेल

खेलाडीमा पेनाल्टी मिस, प्रशिक्षक हुँदा उपाधि

२० वर्षअघि सेनेगल फुटबलको सुनौला पुस्ता पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि संघारमा थियो। तर अलिउ सेसे निर्णायक पेनाल्टी प्रहारमा चुकेपछि सेनेगलले मालीमा क्यामरुनलाई उपाधि सुम्पियो।

सन् २००२ को विश्वकपमा सेनेगलले साबिक विजेता फ्रान्सलाई स्तब्ध पार्‍यो तर टर्कीसँग पराजित भएसँगै सेनेगलको विश्वकप यात्रा क्वार्टरफाइनलमा अन्त्य भयो। सेनेगल फुटबलको सुनौलो पुस्ताको कप्तानी सेसेले गरेका थिए।

बलियो टोली भए पनि सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको थिएन। पश्चिमी अफ्रिकी मुलुक सेनेगल सन् २०१९ मा पनि अफ्रिका कप अफ नेसन्सको उपाधि संघारमा पुगेको थियो तर अल्जेरियासँग पराजित भएपछि सेनेगल उपविजेतामै सीमित भयो।

उनै सेसेको प्रशिक्षणमा इजिप्टमाथि पेनाल्टी सुटआउटमा ४–२ को जितसहित सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जित्यो।

‘विगतमा जे भयो, त्यसलाई सम्झेर केही अर्थ छैन,’ सेसेले भने, ‘हामीसँग अहिले सन् २००२ र २०१९ को भन्दा बलियो टोली छ। हामीले यस पटक विगतको गल्ती दोहोर्‍याएनौं। त्यो नै उपाधि सफलताको सूत्र हो।’

सन् १९७६, मार्च २४ मा सेनेगलको दक्षिणपश्चिमी सहर जिगुनचोरमा जन्मिएका सेसे ९ वर्षको उमेरमा परिवारसहित फ्रान्स प्रस्थान गरे।

उनको चाहना कुनै दिन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्ने थियो, जुन उनले साकारसमेत पारे। उनले सन् १९९८ देखि २००२ सम्म पिएसजीबाट खेले। त्यसपछि भने उनले इङ्लिस क्लब बर्मिङ्घम सिटी र पोर्टसमाउथबाट डिफेन्सिभ मिडफिल्डरका रूपमा खेले। कहिलेकाहीं सेन्टर ब्याक भूमिकामा पनि देखिए तर क्लब करियरमा उनले विरलै चर्चा पाए। उनले सन् २००९ मा लिग टुको क्लब निम्सबाट व्यावसायिक खेलजीवनमा पूर्णविराम लगाए।

सन् २०१२ देखि २०१३ सम्म सेसेले सेनेगलको यु–२३ टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाए। सन् २०१३ देखि २०१५ सम्म भने उनले सोही टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरे।

‘सेनेगल टोलीबाट मैले ठूलो अपेक्षा राखेको थिएँ, तर हामीले निरन्तर उतारचढाव सहन पर्‍यो,’ सेसेले भने।

सेसेले सेनेगलको प्रशिक्षण सम्हालेपछि टोलीमा केही परिवर्तन देखिन थाल्यो। उनकै प्रशिक्षणमा सेनेगल फिफा वरीयतामा अफ्रिकाको शीर्ष टोली बन्यो। कप्तान साडियो माने, इडोवार्डो मेन्डी, इडरिसा ग्वेजस्ता खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा उनको टोलीले सन् २०१७ को अफ्रिका कप अफ नेसन्समा छनोट हुने क्रममा छनोट चरणका ६ वटै खेल जितेको थियो।

तेरंगा लायन्सको उपनाम पाएको सेनेगलले आलोचनाका बीच सन् २०१८ को विश्वकपको टिकट समेत पक्का गरेको थियो।

सेसेको पहिलो प्रशिक्षणमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। जापानसँग कार्डको आधारमा पछि परेपछि सेनेगलका लागि सन् २०१८ को रूस विश्वकप यात्रा पनि समूहचरणमा सीमित बन्यो। सेनेगलको यो दोस्रो विश्वकप सहभागिता थियो। सेनेगलले ६ वटा पहेँलो कार्ड पाएको थियो भने जापानले मात्र ४ वटा पहेँलो कार्डको दर्शन गरेको थियो।

सन् २०१९ को अफ्रिका कप अफ नेसन्समा सेनेगल उत्कृष्ट लयमा देखियो। सेनेगलले फाइनलसम्मको यात्रा तय गरे पनि फाइनलमा अल्जेरियासँग निराश बन्यो। सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा निराश भएको यो दोस्रो पटक थियो।

यस संस्करणको अफ्रिका कप अफ नेसन्सका लागि क्यामरुन भम्रणमा निस्किँदा सेसेसँगै समग्र टोली आलोचनाले घेरिएको थियो।

समूह चरणमा सेनेगलले एक गोल मात्र गर्‍यो। कप्तान साडियो मानेले जाम्बियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। सुरुआती खेलमा प्रमुख खेलाडीको चोट र कोडिभ १९ संक्रमणका कारण थलिएको सेनेगलले एक जित र दुई बराबरीपछि ५ अंकसहित नकआउट चरणमा स्थान बनाएको थियो।

सेनेगलले सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

‘अफ्रिकन च्याम्पियन! रोमाञ्चक खेल! उत्कृष्ट टोली ! तिमीहरूले आफूलाई प्रमाणित गरेका छौ। सुन्दर क्षण! बधाई छ राष्ट्रका नायकहरू,’ सेनेगलका राष्ट्रपति मिके सालले सोमबार ट्विट गरेका थिए।

सेसेका लागि अफ्रिका कप अफ नेसन्सको उपाधिले विशेष अर्थ राख्छ। २० वर्षअघि उपाधि संघारमा पुगे पनि आफू पेनाल्टीमा असफल हुँदा आलोचित सेसेले अहिले प्रशिक्षकका रूपमा टोलीलाई पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाए।

‘मैले खेलाडीका रूपमा जित्न सकिनँ, तर प्रशिक्षकका रूपमा त्यो सपना पूरा गरे,’ सेसेले भने, ‘सेनेगलका जनताको ६० वर्षदेखिको सपना पूरा भएको छ।’

प्रकाशित: २६ माघ २०७८ ०१:४५ बुधबार

सेनेगल फुटबल अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलको विश्वकप यात्रा