खेल

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुदै छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिँदै पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ। संघले खुल्ला महिला तथा पुरुष सहित भेट्रान्स इभेण्टलाई पनि निरन्तरता दिएको छ।  

महिला तथा पुरुष दुवै इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराईने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष एवं संयोजक नविन चालिसेले जानकारी दिए। खुल्ला महिला तथा पुरुष एकल र डबल्स तर्फको प्रतिस्पर्धा बाहेक अन्य इभेण्टमा समेत प्रतिस्पर्धा गराइने उनले बताए। खुल्ला बाहेक पुरुष तर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा गराईने उनले जानकारी दिए।  

प्रतियोगिताका निर्देशक राजन पौडेलका अनुसार पुरुष एकल तर्फ १६ जना, डबल्स तर्फ ९ समूहको प्रतिस्पर्धा रहेको छ। महिला तर्फ एकलमा १२ जना र डबल्स तर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन्। उमेर समूह तर्फ ३५ वर्षमाथिको उमेर समूहको एकल तर्फ २१ जना र डबल्स तर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ। ४५ वर्षमाथिको उमेर समूहमा एकल तर्फ ३२ जना र डबल्स तर्फ २१ टिमको सहभागिता रहेको उनले बताए। त्यस्तै ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकल तर्फ र १३ टिम डबल्स तर्फ प्रतिस्पर्धा गर्ने छन् । ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन्।  

पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष एकल विजेताले ८० हजार रुपैयाँ पुरस्कार राशीसहित ट्रफी प्राप्त गर्ने छन्। उपविजेताले ४० हजार प्राप्त गर्दा सेमिफाईनलिष्ट खेलाडीले पनि १०हजार नगद राशी पुरस्कार थाप्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए। महिला डबल्स र पुरुष डबल्स विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाईनलिष्टले १० हजार प्राप्त गर्ने छन्।  

उमेर समूह अन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेता एकल तर्फ ६० हजार र उपविजेताले ३० हजार नगद पाउँदा डबल्स तर्फ २० र १० हजार पाउने छन् । सेमिफाइनलिष्टले पनि समान १० हजार राशी पुरस्कार पाउने छन। ४५ वर्षमाथिको उमेर समूहको एकल तर्फ ४०हजार ,उपविजेताले २० हजार पाउँदा डबल्स तर्फको विजेता र उपविजेताले क्रमश २० र १० हजार पाउँदा सेमिफाइनलिष्टले पनि १० हजार रुपैयाँ पुरस्कार पाउने संघले जनाएको छ।  

५५ वर्षमाथिको उमेर समूहको एकल विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ पाउने छन। सेमिफाईनलिष्टको हकमा पनि १० हजार राशी रहने छ। डबल्स तर्फ पनि विजेताले २० हजार, उपविजेता समहले १० हजार पाउँदा सेमिफाइनलिष्टले पनि १०हजार नै नगद पुरस्कार प्राप्त गर्ने छन्। ६५ वर्ष माथिको उमेर समूह विजेताले नगद १० हजार प्राप्त गर्ने छन्। प्रतियोगितालाई माछापुच्छ«े बैंकले मुख्य प्रायोजन गर्दै आएको छ। प्रतियोगितामा एक विदेशी, एक एनआरएनसहित पोखरा, बुटवल, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर तथा विभागीय खेलाडी समेतको सहभागिता रहेको कास्की जिल्ला टेनिस संघले जनाएको छ।  

प्रकाशित: १० पुस २०७८ ०८:२२ शनिबार

माछापुच्छ«े खुल्ला टेनिस प्रतियोगिता