खेल

खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा गोरखासहित विभिन्न क्लवका युवाहरु मैदानमा भेला भएर खेलकुद बाहेकका गतिविधि गर्न नहुने बताएका हुन्।

चेम्बर अफ कमर्सले पुस ५ देखि १५ सम्म खेलमैदानमा मेला आयोजना गरेको छ। मैदानमा मेला सञ्चालन गर्दा खेलकुद गतिविधि ठप्प हुने, जिल्लास्तरीय लिग फुटबलको तयारी प्रभावित हुने भएकाले मैदानमा मेला रोक्नुपर्ने एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए।

‘मैदानमा खेल खेल्ने हो, मेला महोत्सव गर्ने होइन, मेला मैदानको विकल्प खोज, खेलकुद मैदानको संरक्षणमा जुटौँ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु मैदानमा धर्ना बसेका छन्। मेला आयोजक चेम्बर अफ कमर्सले स्टल निर्माण, मञ्च निर्माण लगायतको काम गरिहेको थियो। मेला स्थलमा आज बिहानदेखि भने निर्माणको काम रोकिएको छ।

अन्तिम तयारी भइरहेको बेला मेला बन्द गर्न खोज्नु दुर्भाग्य भएको चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए। जिल्ला खेलकुद विकास समितिको नाममा रहेको मैदानमा मेला महोत्सव गर्न दिने अधिकार खेलकुदको भएको समिति अध्यक्ष सान्तासिंह बस्नेतले बताए। ‘हामीले सम्झौता गरेर दिइसक्यौँ, कसरी रोक्नु’, उनले भने।

उक्त खेलमैदान मेला गर्न नदिन जिल्ला खेलकुद विकास समितिलाई राष्ट्रिय खेलकुद परिषद् र गण्डकी प्रदेश खेलकुद मन्त्रालयले पत्राचार गरिसकेको छ। मैदानको संरचना बिग्रने भएकाले खेलकुद गतिविधि गर्न माथिल्लो निकायले पत्राचार गर्दागर्दै मेला गर्न जिल्ला खेलकुदले सम्झौता गरेपछि बिवाद सुरु भएको हो। 

प्रकाशित: २ पुस २०७८ ०८:०१ शुक्रबार

गोरखा सदरमुकाम