खेल

नेपाल गोलखातामै असफल

लेबनानसँग पराजित भएसँगै एएफसी यु–२३ एसिया कप छनोटमा सुखद अन्त्य गर्ने नेपालको लक्ष्यले पूर्णता पाएन। आइतबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले लेबनानलाई ४–० को नतिजा सुम्पिएको हो।

पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएपछि नेपालको यात्रा समूहचरणमा सीमित बनिसकेको थियो। त्यसैले लेबनानविरुद्धको खेल नेपाली टोलीका लागि प्रतियोगितामा सुखद बिदाइको सुनौलो अवसर थियो। प्रतियोगिताका तीन खेलमा नेपालले १४ गोल खायो भने विपक्षीको पोस्टमा एक गोल पनि गर्न सकेन।

११ समूह रहेको छनोट चरणबाट शीर्ष ११ टोलीका साथै ४ उपविजेता गरी कुल १५ टोली उज्बेकिस्तानमा आगामी वर्ष आयोजना हुने यु–२३ एसिया कपमा छनोट हुनेछन्। २६औँ मिनेटमा जेइन फरहानको गोलमा लेबनानले अग्रता लिएको थियो।

४७औं मिनेटमा फरहानले लेबनानको अग्रता दोब्बर पारे। ७४औं मिनेटमा मोहम्मद नासिरले टोलीको अग्रता ३–० मा पुर्‍याएका थिए। खेल सकिन ८ मिनेट बाँकी हुँदा हैदरले गरेको गोलमा लेबनानले नेपालमाथि सहज जितका साथ प्रतियोगितामा सुखद बिदाइ गरेको हो। लेबनान पनि ताजिकिस्तान र इरानलाई नतिजा सुम्पिएसँगै प्रतियोगिताबाट बाहिरिसकेको थियो।

प्रकाशित: १५ कार्तिक २०७८ ०४:१४ सोमबार