खेल

अल्मुताइरीलाई भेटेर खेलकुद मन्त्रीले भनेः सरकार तपाईको साथमा छ

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई भेटेका छन्। मन्त्री गहतराजले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा उनलाई भेटेका हुन्।  

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा थप ३ वर्षको सम्झौता थप गरेको कुवेती प्रशिक्षक अल्मुताइरी शनिबार राती काठमाडौं आइपुगेका थिए। गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अल्मुताइरी त्यहिंबाट कतार गएका थिए।

यस अवसमा मन्त्री गहतराजले अल्मुताइरीलाई हल्लाको पछि नलागी सिधै आफूलाई सम्पर्क गर्न आग्रह समेत गरेका थिए।

'बाहिर चलेका हल्लाको पछि नलाग्नु होला। केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,' मन्त्री गहतराजले भने, 'नेपाल सरकार तपाईंको साथमा छ। गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला।'

अल्मुताइरीको यसअघि विभिन्न समयमा पटकपटक विवादमा तानिएका थिए।

प्रकाशित: १४ कार्तिक २०७८ १२:३० आइतबार

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज राष्ट्रिय पुरुष फुटबल टोली