खेल

‘राखेप ओलम्पिक कमिटीप्रति खेलाडीकै भरोसा रहेन’

पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल । तस्बिर : सन्देश श्रेष्ठ/नागरिक

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले राष्ट्रिय खेलकुद परिषद (राखेप), ओलम्पिक कमिटी लगायतका खेल संस्थाहरुलाई खेलाडीहरुले हाम्रो हो भन्ने अनुभूति गर्न नपाएको आरोप लगाएका छन् ।  

नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटिले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका अध्यक्ष पौडेलले खेलाडीहरुले राखेप, ओलम्पिक कमिटीलाई हाम्रो हो भनेर अनुभूति नै गर्न नपाएको बताएका हुन् ।  

ओलम्पिक कमिटी त झन् जीवनराम श्रेष्ठको मात्रै हो भनेजस्तो देखिएको टिप्पणी गर्दै उनले भने, ‘खेलाडीले के ठान्नु पर्‍यो भने राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, खेलकुद महासंघ हाम्रो हो भन्ने फिल गर्नु पर्‍यो । तर खेलाडीले त्यो फिल गर्न सकिरहेका छैनन् । खेलाडीले ओलम्पिक कमिटि मेरो हो भन्ने फिल नै गर्दैन । ओलम्पिक जीवनरामको मात्रै भइरहेको छ ।’ उनले ओलम्पिक कमिटि खेलाडीको ओलम्पिक कमिटि नबनेको आरोप लगाए ।

महासंघ अध्यक्ष पौडेलले खेलाडी भन्दा धेरै खेल पदाधिकारी लैजाने परम्पराले अन्तर्राष्ट्रिय पदक प्राप्त नहुने बताए । यसको पछिल्लो उदाहरण टोकियो ओलम्पिक भएको उनको भनाई छ । ‘यस्तो अवस्थाको अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘यो अवस्थाको अन्त्य नभई खेल क्षेत्र सुध्रिँदैन, परिणाम आउँदैन ।’ नामै नसुनेको देशले मेडल जित्दा नेपालले मेडल नजित्नुको कारण पनि यहि भएको उनको दावी छ ।  

अध्यक्ष पौडेलले खेल क्षेत्र देशको प्राथमिकतामा कहिल्यै नपरेको बताए । ‘हिजोपनि खेल क्षेत्र देशको प्राथमिकतामा परेन, अहिले पनि परेको छैन, तर अब पर्नैपर्छ,’ उनले भने । त्यसका लागि खेल क्षेत्र बुझेको खेलकुद मन्त्री हुनुपर्ने उनले बताए । राखेपको अध्यक्ष को हुन्छ भन्नेसमेत थाहा नपाएकाहरु खेलकुद मन्त्री हुँदा खेल क्षेत्रले प्रगति गर्न नसकेको उनले आरोप लगाए । उनले अब खेलकुदमा बजेट वृद्धि गर्नुपर्ने बताए । ‘खेलकुदका लागि कुल बजेटको ५ प्रतिशत छुट्याउनुपर्छ, त्यसको शुरुवात तत्काल एकप्रतिशत बजेट राखेर गरौं,’ उनले भने ।

अध्यक्ष पौडेलले २०–२५ वर्षदेखि खेलिरहेका खेलाडीलाई निवृतिभरणको ब्यबस्था गर्नुपर्ने बताए । ‘वर्षौंदेखि खेल खेलिरहेका खेलाडीलाई अहिलेपनि बाँच्ने आधार नहुँदा खेलाडी समस्यामा परेकाले उनीहरुलाई बाँच्ने आधार निर्माण गर्न उनीहरुलाई निवृतिभरण गर्नुपर्छ, यसका लागि सरकारले चाँडै काम गरोस्,’ उनले भने ।

पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल जितेकाहरुलाई प्राधिकरणमा जागिर दिन पनि माग गरेका छन् । मेडल जितेर देशको नाम उचो बनाएका खेलाडीहरुलाई नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान, नेपाल टेलिकमलगायतमा जागिर दिनुपर्ने उनले बताए । भारत लगायतका देशहरुमा पनि देशका लागि मेडल जित्नेलाई प्राधिकरणमा जागिर दिने गरेको उनको दाबी छ । महासंघ अध्यक्ष पौडेलले नवौं राष्ट्रिय खेलकुदमा सहभागि खेलाडीलाई दैनिक ५ हजारका  दरले भत्ता दिनपनि माग गरेका छन् । ‘खेलाडीको नाममा खेलकुदका पदाधिकारी र अफिसियलले भत्ता बुझ्दा खेलाडीमा निराशा छाएकाले खेलाडीलाई प्राथमिकतामा राखेर भत्ता दिनुपर्छ भन्ने महासंघको भनाई छ,’उनले भने ।

साथै उनले खेल क्षेत्रमा पूर्वाधार थप्नपनि सरकारलाई आग्रह गरे । खेल संरचना नहुँदा खेलाडीले अभ्यास गर्नसमेत नपाएको र कतिपय ठाउँमा पूर्वाधारको अभावमा खेलाडी उत्पादनमासमेत समस्या देखिएको उनले तर्क गरे ।  आफुले उठाएका विषयहरु नेपाल खेलकुद महासंघको आधिकारिक धारणा भएको भन्दै अध्यक्ष पौडेलले यी मागहरु राखेर चाँडै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने उनले जानकारी दिए । उनले महासंघका मागहरु पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिए । ‘खेलाडीको पेट, स्वाभिमान र अधिकार हाम्रो पहिलो प्राथमिकता हो, यो माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ’,उनले भने ।

प्रकाशित: ६ भाद्र २०७८ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App