खेल

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।

कोभिड १९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० शुक्रबार उद्घाटन भए पनि खेलहरू भने शनिबारबाट मात्र सुरु भएका हुन्। यद्यपि महिला तथा पुरुष फुटबलका साथै ह्यान्डबल भने मंगलबारबाटै सुरु भैसकेका छन्। शनिबार पहिलो दिन ११ स्वर्ण पदकको छिनोफानो हुँदा चीनले ३ तथा आयोजक जापान, इक्वेडर, इरान,दक्षिण कोरिया,कोसोभो,हंगेरी,थाइल्यान्ड र इटालीले स्वर्ण पदक जिते। 

चीनले सुटिङ, भरोत्तोलन र फेन्सिङमा गरी तीन स्वर्ण जितेको हो। याङ क्वानले रूसकी एनाथारिसा ग्लान्सियालाई पछि गर्दै १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन्। ‘यो स्वर्ण पदक मेरो देशका लागि मेरा तर्फबाट उपहार हो,’ क्वानले भनिन्, ‘म निकै हर्षित छु।’ त्यस्तै ह्वाओ जिहुईले ओलम्पिकको २ सय १० केजी कीर्तिमानसहित भरोत्तोलनको महिला ४९ केजीमा स्वर्ण जितिन् भने फेन्सिङमा सन यविनले स्वर्ण जिते।

यता साइक्लिङतर्फ इक्वेडरका क्रापाजले स्लोभानियाका तादेई पोगाचारलाई पछि पर्दै रोड रेसमा स्वर्ण जिते। इक्वेडरले ओलम्पिक इतिहासमा जितेको यो दोस्रो स्वर्ण हो। यसअघि सन् १९९६ को एट्लान्टा ओलम्पिकका ५० किमी रेस वाकमा जेफरसन पेरेजले स्वर्ण जितेका थिए। जापानमा कोभिड १९ संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै टोकियो ओलम्पिकका प्राय सबै खेलमैदानमा दर्शक प्रवेशमा रोक लगाइएको छ। जापानी दर्शकका लागि रोड रेस टोकियो ओलम्पिकमा प्रत्यक्ष खेल हेर्ने अनौठो अवसरसमेत बन्यो। 

‘यो मेरा लागि अविस्मरणीय क्षण हो,’ क्रापाजले भने, ‘आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति हो। मैले मेरो मिहिनेतको फल आज प्राप्त गरें।’ दक्षिण कोरियाले पनि मिक्स्ड टिम आर्चरीमा स्वर्ण पदक जित्यो भने जापानका नाओहिसा तोकाताले जुडोको ६० केजी तौलसमूहमा स्वर्ण जिते। त्यस्तै कोसोभोकी दिस्ट्रा क्रास्निघीले महिला ४८ केजी जुडोमा स्वर्ण जित्दा इरानका जाभेद फौरागीले पुरुष १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन्।

यता इटालीका भेटो डेल अक्वेलाले तेक्वान्दोतर्फ पुरुष ५८ केजीमा, हंगेरीका एरोन ज्यागीले फेन्सिङ, थाइल्यान्डकी पानपाक वोङफाटानकैटले तेक्वान्दोतर्फ महिला ४९ केजी तौलसमूहमा स्वर्ण जिते। तर चीन र इक्वेडरले सुखद सुरुआत गर्दा जापानका लागि भने सुखद रहेन। जिम्न्यास्टिक स्टार कोहे उचिमारु होराइजेन्टर बारमा अयोग्य घोषित भएसँगै बाहिरिएका थिए। सन् २०१२ को लन्डन र सन् २०१६ को रियो ओलम्पिकका स्वर्ण विजेता उचिमारुले घरेलु मैदानमा हुने यस संस्करणको ओलम्पिकपछि संन्यास लिने घोषणा गरिसकेका छन्।

प्रकाशित: १० श्रावण २०७८ ०४:५७ आइतबार

चीनलाई तीन स्वर्ण