राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला आसन्न टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी हुने जम्बो नेपाली टोलीमा समावेश नहुने भएका छन्। आगामी जुलाई २३ देखि टोकियो ओलम्पिक आयोजना हुँदै छ। उक्त ओलम्पिकका लागि नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दा १७ सदस्यीय पदाधिकारी समावेश छन्।
जसका कारण नेपाली खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) माथि निकै आलोचना भइरहेको छ। यसैबीच राखेपका उपाध्यक्ष कोइरालाले आफू उक्त टोलीमा समावेश नहुने बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै राखेपका उपाध्यक्ष कोइरालाले आगामी टोकियो ओलम्पिकमा नजाने उद्घोष गरेका हुन्।
‘देशको सहभागिता नै पहिलो प्राथमिकता हो। म, हामी या कोही पदाधिकारी जानै पर्छ भन्ने होइन। त्यस टोलीमा राखेपका प्रतिनिधि हुनुहुन्छ, त्यसैले राज्यलाई धेरै भार नपारौ भन्ने उद्देश्य हो,’ उपाध्यक्ष कोइरालाले भने, ‘मलाई विश्वास छ, उहाँहरूले पूर्ण रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुनेछ। त्योभन्दा पहिला हाम्रा खेलाडीले देशको नाम उँचो राख्न कुनै कसर बाँकी राख्दैनन् भन्नेमा म विश्वस्त छु।’
माओवादी केन्द्र समर्थित अखिल नेपाल खेलकुद महासंघका अध्यक्षसमेत रहेका कोइरालाले आफ्ना लागि देशको सहभागिता नै प्राथमिकताको विषय रहेको स्पष्ट पारे। टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुनेमा चार खेलका पाँच खेलाडी, चार प्रशिक्षक, एक चिकित्सकसहित २६ सदस्यीय टोली छ। कोरोना भाइरसका कारण टोकियो ओलम्पिकमा आयोजकले भिआइपी र अन्य पदाधिकारीको सहभागितामा कडा नियम जारी गरेको थियो। त्यसैले नेपाली खेलनिकायका अधिकांंश पदाधिकारीहरू पाँच खेलाडीका टिम लिडर र व्यवस्थापकका रूपमा ओलम्पिकमा सहभागी भएका छन्।
अध्यक्ष जीवनराम श्रेष्ठसहित एनओसीबाट मात्र ९ सदस्यीय जम्बो टोली ओलम्पिकमा समावेश हुँदै छ। करिब ८/९ महिनादेखि अमेरिकामा रहेका एनओसीका सह–महासचिव पीताम्बर तिम्सिना पनि त्यतैबाट नेपालको जम्बो ओलम्पिक टोलीमा समावेश हुँदै छन्। राखेपका पूर्वउपाध्यक्षसमेत रहेका तिम्सिनालाई एथलेटिक्सको व्यवस्थापक बनाइएको छ। २६ जनाको जम्बो टोलीमध्ये १३ जना ओलम्पिक खेलस्थल प्रस्थान गरिसकेका छन्।
जुडोकी खेलाडी सोनिया भट्ट र प्रशिक्षक सूर्यनारायण श्रेष्ठसहित १० सदस्यीय नेपाली टोली शुक्रबार नै टोकियो प्रस्थान गरिसकेको छ। उक्त टोलीमा एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन्। उनी एनओसीकी सचिव पनि हुन्। ओलम्पिक खेल्ने नेपाली पौडी टोली यसअघि नै टोकियो पुगिसकेका छन् भने सुटिङ र एथलेटिक्स भने केही दिनमा जानेछन्।
पौडीका एलेक्जेन्डर शाह र प्रशिक्षक शंकर कार्की दुई हप्ताअगाडि नै टोकियो पुगिसेकका छन्। पौडीकै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट टोकियो पुगेकी थिइन्। उनीहरू हाल टोकुसिमा प्रान्तमा अभ्यासरत छन्। कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियार र एथलेटिक्सकी सरस्वती चौधरीले नेपालको तर्पmबाट प्रतिस्पर्धा गर्दै छन्। सुटिङकी कल्पनाले भने १० मिटर एयर राइफलमा चुनौती प्रस्तुत गर्दै छिन्। सरस्वतीले भने सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छिन्।
प्रकाशित: ३ श्रावण २०७८ ०४:२३ आइतबार