खेल

प्रशिक्षणबाट १४ खेलाडी बाहिर

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३६ खेलाडीलाई स्थान दिएका छन्। एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।

गोलकिपर विशाल सुनारका साथै अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी र सुदिल राईले दोस्रो चरणमा स्थान पक्का गर्न सकेनन्। थ्री स्टारका मिडफिल्डर विक्रम लामा पनि राष्ट्रिय टोलीसँग प्रशिक्षणरत छन्। दुई महिनाअघि मात्र उनी कतारमा घुँडाको सफल शल्यक्रियापछि नेपाल फर्किएका थिए।

गत महिना कुवेतमा सम्पन्न विश्वकप छनोटको चौथो स्थान पक्का गरेको नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कप छनोटमा स्थान पक्का गरेको थियो। साफ च्याम्पियनसिप भने सेप्टेम्बरमा आयोजना हुँदै छ। गत वर्ष नै आयोजना हुनुपर्ने भए तापनि कोभिड–१९ महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। सो प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्स गरी ५ राष्ट्रको सहभागिता रहनेछ। यता भुटानले सेप्टेम्बरमा साफ आयोजना भएमा सहभागिता जनाउन नसक्ने बताइसकेको छ भने पाकिस्तानमाथि हाल फिफाको प्रतिबन्ध छ। बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइसकेका कारण नेपाल र श्रीलंकाले यस संस्करणको साफ च्याम्पियनसिप आयोजनाका लागि दाबी गरिरहेका छन्।

प्रकाशित: ३१ असार २०७८ ०३:४७ बिहीबार

प्रशिक्षणबाट १४ खेलाडी बाहिर