खेल

विवेकले जिते अनलाइन चेस

नेपालका उच्च रेटेड युवा खेलाडी विवेक लामाले आइतबार तिमुरे यातायात अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।  

हाल रसियामा अध्ययनरत विवेकले कुल साढे ९ अंकसहित एघारौं चरणसम्मको प्रतियोगिताको उपाधि जितेका हुन्। उनले एघारौं चरणको खेलमा काठमाडौंका पुरुषोत्तम सिलवाललाई पराजित गरेका थिए। त्यस्तै फिडे मास्टर क्षितिज भण्डारी साढे आठ अंक जोड्दै दोस्रो स्थानमा रहे। उनले अन्तिम खेलमा भक्तपुरका निकेश कुस्थालाई हराएका थिए। अनरेटेड खेलाडी विजेन्द्र सिंहले पनि समान ८ अंक बटुलेका थिए। यद्यपि, प्रोग्रेसिभ अंकका आधारमा क्षितिज दोस्रो भए।

विजेन्द्रले अन्तिम खेलमा काभ्रेको विजेश्वर श्रेष्ठलाई हराउँदै क्षितिजसँग अंक बराबरी गरेका हुन्। त्यसै गरी निकेन कुस्था, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, धनुषाका सुशील चौधरी, पुरुषोत्तम सिलवाल, काठमाडौंका कल्याण पाण्डे र दोलखाका राजीव कार्की क्रमशः चौथोदेखि दशौं स्थानमा रहन सफल भए। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा महिलातर्पm मिसन युथ क्लबकी पूर्णिमा गुरुङले उपाधि जितिन्। काठमाडौंकी रिया श्रेष्ठ दोस्रो स्थानमा रहँदा ताप्लेजुङका सुशीला गुरुङ तेस्रो भइन्।

बुद्धिचाल डट कमको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा दुई हजार मुनि रेटेडमा रामेछापका लक्ष्मण रेग्मी, १८०० मुनि रेटेडमा मकवानपुरका सविन घिमिरे, १६०० मुनि रेटेडमा काभ्रेका रोशन रञ्जित र भेट्रानमा सप्तरीका सिंगेश्वर दास उत्कृष्ट ठहरिए। ३२ जना खेलाडीलाई नगद पुरस्कार रहेको प्रतियोगिताका विजेता खेलाडीलाई नुवाकोट जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष तथा तिमुरु यातायातका अध्यक्ष ओमप्रकाश जोशीले पुरस्कार प्रायोजन गरेका थिए। उक्त प्रतियोगितामा कुल ९६ जना खेलाडीले चुनौती प्रस्तुत गरेका थिए।  

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:५५ सोमबार

अनलाइन चेस युवा खेलाडी विवेक लामा