खेल

कोपा अमेरिका स्थगित

अर्जेन्टिनामा तय भएको कोपा अमेरिकाको संस्करण विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको छ।  

कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दैै प्रतियोगिता स्थगित गर्ने जनाएको छ। यसअघि संयुक्त रूपमा आयोजना गर्ने भनेको कोलम्बियाले आयोजना गर्न नसक्ने भन्दै हात उठाएपछि अर्जेन्टिना एक्लैले गर्ने तय भएको थियो।  

‘कन्मेबलले महामारीलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने जानकारी दिएको छ,’ अर्जेन्टिनाको आधिकारिक फुटबल संस्थाले भन्यो, ‘कन्मेबलले अन्य देशमा आयोजनाको सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। केही देशले आयोजनाका लागि इच्छा पनि देखाएका छन्।’

कोपा अमेरिका अघिल्लो वर्षमा नै आयोजना हुनुपर्ने तालिका थियो। यसअघि १२ महिनाअगाडि कोरोना भाइरसका कारण हुन सकेको थिएन। यस्तै कोपा अमेरिकाका पदाधिकारीहरू सोमबार भेटघाट गर्ने तालिका छ। उक्त भेलामा कुन देशमा आयोजना हुन सक्ला भन्ने सम्भावनाको विषयमा बहस हुनेछ।

यसअघि अर्जेन्टिनामा सार्वजनिक भएको मत सर्वेक्षणमा कोपा अमेरिका तत्काल गर्न नसक्ने पक्षमा जनमत परेको थियो। कोपा अमेरिका सुरु हुनुपूर्वको दुई साताबाट अर्जेन्टिनामा दुई साता लकडाउनको घोषणा गरिएको छ। अहिले नौ दिनदेखि अर्जेन्टिनामा लकडाउन चलिरहेको छ। यद्यपि अर्जेन्टिनामा दिनप्रतिदिन कोरोना भाइरसका बिरामीको संख्या बढ्ने क्रममा छ ।  

तर अर्जेन्टिनाले कोपा अमेरिका आयोजनाका लागि अपनाउनुपर्ने मापदण्डलार्ई कडाइका साथ लागू गर्ने लक्ष्यका साथ तयारी गरिरहेको थियो। नयाँ रंगशाला बनाउनका लागि अर्जेन्टिनाले तयारीलाई तीव्रता दिएको थियो।  

यसअघि कोलम्बियासँग संयुक्त रूपमा आयोजनाका लागि अनुमति पाए पनि कोलम्बियामा भएको राजनीतिक अस्थिरताले अर्जेन्टिना एक्लैले आयोजनाको जिम्मा पाएको थियो।  

अर्जेन्टिनामा हाल कोरोना भाइरसको संक्रमण दर निकै माथि रहेको छ। दैनिक ३४ हजार बढी संक्रमित थपिने क्रममा छन्। पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि कन्मेबलले कोपा अमेरिकाको संस्करण अर्जेन्टिनामा नगर्ने निर्णय लिएको हो। कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुने तालिका थियो। तर अब आयोजनास्थल परिवर्तन भएसँगै खेलमिति पनि केही परिवर्तन हुने सम्भावना छ। प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७८ ०२:३१ मंगलबार

कोपा अमेरिका स्थगित