डेब्युपश्चात् लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेको नेपालका कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी–२० क्रिकेटको ब्याट्सम्यान वरीयतामा शीर्ष सयभित्र परेका छन्।
जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल आइसिसीले जारी गरेको नयाँ वरीयतामा ९३औं स्थानमा परेका छन्। उनले यसै शृंखलामा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए। डेब्युमै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन तथा र तेस्रो खेलमा नेदरल्यान्डविरुद्ध ६२ रन बनाएका थिए। उनी वेस्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्डका ब्रेन्डन म्याककलमको लगातार चौथो अर्धशतकको रेकर्डनजिक पनि छन्।
शृंखलामा कुशलले ९२.५० को औसत र १३९.०९ को स्ट्राइक रेटमा सर्वाधिक १ सय ८५ रन बनाएका छन्। वरीयताको शीर्ष सयभित्र नेपालका पूर्वकप्तान पारस खड्का पनि छन्। चोटका कारण यस शृंखला नखेलेका पारस ८३औं स्थानामा छन्। पारसभन्दा अगाडि भारतीय ब्याट्सम्यान मनीष पाण्डे छन्। वरीयतामा भुर्तेलभन्दा पछि अस्ट्रेलियाका म्याथु वेड, मार्कस स्टोइनिस क्रमशः ९६औं र ९७औं स्थानमा छन्।
प्रकाशित: ९ वैशाख २०७८ ०५:२६ बिहीबार