खेल

सुपर लिगको सर्वत्र आलोचना

युरोपका शीर्ष १२ टोलीको योजना र अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) प्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका छन्।

सुपर लिगको घोषणासँगै युइएफएले आयोजना गर्दै आएको च्याम्पियन्स लिगको भविष्य नै के हुने भन्नेमा अन्योल बढेको छ। म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र टोटेनह्याम गरी इङ्लिस प्रिमियर लिगका ६ क्लब, रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड गरी स्पेनिस ला लिगाका तीन र युभेन्ट्स, इन्टर मिलान र एसी मिलान गरी इटालियन सिरी ‘ए’ का तीन गरी कुल १२ टोलीले सुपर लिगको घोषणा गर्दै च्याम्पियन्स लिगबाट अलग्गिने घोषणा गरेका थिए। यी १२ टोली प्रतियोगिताका संस्थापक हुनेछन्।

सहभागी १२ क्लबले थप तीन क्लब आफूहरूसँग जोडिन लागेको भन्दै संयुक्त विज्ञप्तिसमेत जारी गरिसकेका छन्। साथै उनीहरूले प्रतियोगिता छिट्टै आयोजना हुने पनि जनाएका छन्। सुपर लिगको घोषणाले विश्वकै चर्चित प्रतियोगिताको रूपमा रहेको युइएफए च्याम्पियन्स लिगको भविष्य के हुने भन्ने दुविधा बढाएको छ। कोभिड–१९ महामारीका कारण आर्थिक संकटमा रहेका यी क्लबहरूलाई जेपी मोर्गानले आर्थिक सहयोग प्रदान गर्नेछ। ‘हामी सुपर लिगमा लगानी गर्दै छौं। तर अहिले नै यसबारे विस्तृत रूपमा भने केही बताउन चाहदैनाैं,’ जेपी मोर्गान बंैकका प्रवक्ताले भनेका छन्।

प्रतियोगितामा २० क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ। जहाँ संस्थापकमध्येका १५ क्लबले प्रत्येक वर्ष प्रतियोगितमा सहभागिता जनाउनेछन् भने पाँच टोली छनोट पार गर्दै आउनेछन्। घरेलु लिगमा असर नपर्ने गरी सुपर लिगका खेल मध्यसाता हुनेछन्। प्रतियोगितामा फ्रान्स महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बायर्न गत सिजन च्याम्पियन्स लिगको विजेता हो भने पिएसजी उपविजेता हो।

यद्यपि, सुपर लिगका संस्थापक १२ क्लबका स्रोतले भने प्रतियोगितामा कम्तीमा दुई फ्रान्सेली क्लब सहभागी हुने भए पनि अहिले नै सहभागी क्लबको नाम भने खुलाउन नचाहेको बताएको छ। युइएफएले सोमबार सन् २०२४ बाट च्याम्पियन्स लिगको संरचना परिवर्तन गर्दै सहभागी टोलीको संख्या ३२ टोलीबाट बढाएर ३६ पुर्‍याउने निर्णय गरेको छ। युइएफएका साथै स्पेनिस फुटबल संघ, फुटबल संघ (एफए) र इटालियन फुटबल संघले संयुक्त विज्ञप्ति जारी गर्दै सुपर लिग आयोजनाको घोषणाप्रति आपत्ति जनाएका छन्।  

‘सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबले घरेलु, युरोपियन र विश्वका अन्य कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै प्रतियोगिता खेल्ने खेलाडीहरूमाथि भने अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लाग्न सक्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै समर्थक र फुटबल विश्लेषकहरूले पनि सुपर लिगको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। टोटेनह्याम र चेल्सीका समर्थक कोषले सुपर लिगलाई अक्षम्य गल्तीको संज्ञा दिएका छन्। यता एफएका पूर्वअध्यक्ष जर्ज डेइकले सुपर लिगको घोषणाप्रति कसैले पनि समर्थन नगरेकाले प्रतियोगिता हुनेमा शंका रहेको बताएका छन्।

‘यो गम्भीर गल्ती हो। सबैले सुपर लिग आयोजनाप्रति आपत्ति जनाइरहेका छन्,’ उनले भने, ‘यसको चौतर्फी आलोचना भइरहेको छ। आशा छ, यो प्रतियोगिता आयोजना नै हुनेछैन।’ सुपर लिगले अघि सारेको योजनाअनुसार सहभागी २० क्लबलाई दुई समूहमा विभाजन गरिनेछ। जहाँ दुई समूहमा समान १० टोलीको सहभागिता रहनेछ। होम एन्ड अवे पद्धतिमा हुने प्रतियोगिताको समूहचरणमा सहभागी सबै क्लबले १८ खेल खेल्नेछ। दुवै समूहका शीर्ष तीन टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्। दुवै समूहका चौथो र पाँचाैं टोलीले क्वार्टरफाइनल प्रवेशका लागि बाँकी रहेको दुई स्थानका लागि प्लेअफ खेल्नेछन्। च्याम्पियन्स लिगजस्तै सुपर लिग सेमिफाइनल पनि दुई लेगकै हुनेछ।  

फाइनल खेल मे १ मा हुनेछ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सुपर लिगको आयोजनाप्रति आपत्ति जनाउँदै सबै सरोकारवाला पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि क्लबहरूले थप कदम चाल्नुअघि आफ्ना समर्थक र समग्र विश्वलाई नै जबाफ दिनुपर्ने बताएका छन्। युरोपियन क्लब एसोसिएनले पनि सुपर लिगको घोषणाप्रति आपत्ति जनाएको छ।  

‘इङ्ल्यान्ड तथा युरोपका अन्य लिग क्लबका समर्थक आफ्नो टोलीले धेरैभन्दा धेरै सफलता हात पारेको हेर्न चाहन्छन्,’ इङ्लिस प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युरोपियन सुपर लिगको योजनाले समर्थकको सो चाहनामाथि तुसारापात गर्नेछ।’

प्रकाशित: ७ वैशाख २०७८ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App